खबर पूर्वाञ्चल
खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा ३५ मत बदर भएको निर्वाचन समितिका संयोजक चुडामणि आचार्यले जानकारी दिए। एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।
प्रदेश अध्यक्षमा निर्वाचित भएसँगै खतिवडाले २०६६ सालमा मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला समेत लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । त्यस बेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा खतिवडाले बाजी मारे । यस पटक एमाले अध्यक्ष ओलीको खतिवडालाई साथ थियो ।
जिल्ला अध्यक्षको अधिवेशनपछि उनीहरूबीचमा प्रतिस्पर्धा भएको थिएन । खतिवडा मदन भण्डारीसँग काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । ६२ वर्षका खतिवडा भने २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा मोरङको लेटाङ गाविस अध्यक्षमा निर्वाचित भए ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित उनले तिनै लिम्बूलाई हराउँदै २०७४ सालमा मोरङ १ बाट प्रतिनिधिसभा सदस्य जित्न सफल भए । २०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए ।
उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा खतिवडा प्यानलबाट राजकुमार भण्डारी विजयी भएका छन्। उनले ढकाल प्यानलबाट उम्मेदवार बनेका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरेका छन्। भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
यस्तै पाँचथरका राजकुमार भण्डारी सचिवमा निर्वाचित हुनु भएको छ । उनले ५२४ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्वन्दी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे। लामा यस अघि प्रदेशको उपसचिव रहेका थिए।
यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याएर पराजित भए । दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा रहेको थियो । सचिव र उपसचिव खतिवडा प्लानलबाटै विजयी भएका हुन् ।
सदस्यहरुमा भने मिश्रित नतिजा आएको छ । मजदुर तर्फबाट सदस्यमा भीमज्वाला राई, अम्बिर लिङ्देन र किशोर धमला विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा तेह्रथुमबाट लक्ष्मण तिवारी, आदिवासी महिलामा मौसम राई, मजदुर महिलामा निर्मला परियार, कविता राई विजयी भइन् ।
अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आएका थिए । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदानमा अनुपस्थिती भएको निर्वाचन कमिटीले जनाएको छ ।