खबर पूर्वाञ्चल
अन्तर हाउस फुटबल प्रतियोगिताको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले उद्घाटन गरे । ३ दिनसम्म हुने प्रतियोगितामा कक्षा ३ देखि ९ कक्षासम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा ४ वटा समूहको बेग्लाबेग्लै स्पर्धा हुनेछन् । पहिलो दिन कक्षा ३ देखि ५ सम्मका ४ वटा हाउसबिच भएको खेलमा कोशी हाउसले उपाधि जितेको छ ।
कोशीले गण्डकी हाउसलाई २–० गोल अन्तरमा हराउँदै उपाधि जितेको हो । जसका लागि कक्षा ४ का निर्भिकबाबु कालिकोटेले र कक्षा ५ का प्रिन्स साहले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता निर्भिकबाबु म्यान अफ द टुर्नामेन्ट भए ।
यसअघि, कर्णालीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै गण्डकी फाइनलमा पुगेको हो भने पहिलो खेलमा मेचीलाई १ का विरुद्ध ३ गोल गर्दै कोशी फाइनलमा पुगेको थियो ।
प्रतियोगिताअन्तर्गत बुधबार कक्षा ६ र ७ को समूह तथा ८ र ९ को समूहका खेलहरू हुने छन् । बिहीबार ८ र ९ को समूहको फाइनल खेल तथा छात्रा खेलाडीहरूको स्पर्धा हुने विद्यालयले जनाएको छ ।