खबर पूर्वाञ्चल
विगतमा ‘सहयात्री’ बनेका यी तीन नेताबीचको प्रतिस्पर्धाले मोरङ–४ लाई देशकै ध्यान खिच्ने ‘हटस्पट’ बनाएको छ । थपिएको नयाँ चुनौती हो— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी, जसले परम्परागत दलका स्थापित नेताहरूको मत काट्ने डर पैदा गरिदिएका छन् ।
मोदीको साख र थारु सेन्टिमेन्ट
२०७४ र २०७९ को निर्वाचन जितेर संसद् पुगेका अमनलाल मोदी यस क्षेत्रका लागि परिचित अनुहार हुन् । २०७४ मा कांग्रेसका प्रभावशाली नेता महेश आचार्य र २०७९ मा एमालेका विनोद ढकाललाई पराजित गरेका मोदी यसपटक पनि आफ्नो जितको सिलसिला जारी राख्न चाहन्छन् । थारु समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा मोदीको आफ्नै समुदायसँगको गहिरो पकड र युवा पुस्तामाझको पहुँच उनको मुख्य शक्ति हो ।
यद्यपि, अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाउँदा ३० हजार ६१२ मत ल्याएका मोदीका लागि यसपटक कांग्रेस र एमाले दुवै एक्ला–एक्लै मैदानमा हुनुले चुनौती थपेको छ । सत्ता र शक्तिमा रहँदा उनले गरेका कामको परीक्षण यसपटकको मतपेटिकामा हुनेछ ।
गुरुराजको अग्निपरीक्षा
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका लागि यो निर्वाचन केवल पदको लडाइँ मात्र होइन, उनको राजनीतिक पुनरागमनको परीक्षा पनि हो । २०७९ को मोरङ क्षेत्र नं। ४९१० को प्रदेशसभा निर्वाचनमा एमालेका उम्मेदवार जयप्रकाश चौधरीले झिनो मतले पराजित भएपछि केही समय ओझेल परेका घिमिरे कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेसँगै नयाँ उत्साहका साथ मैदानमा छन् ।
विद्यार्थी राजनीतिबाट स्थापित घिमिरे वैचारिक र प्रखर नेताका रूपमा चिनिन्छन् । अघिल्लो पटक मोदीलाई सघाएका उनी यसपटक आफ्नै बलमा मैदानमा उत्रिएका छन् । उनलाई कांग्रेसको पुरानो विरासत फर्काउने र पार्टीभित्रको आफ्नो प्रभावशाली भूमिकालाई संसदीय राजनीतिमा प्रमाणित गर्ने चुनौती छ ।
एमालेको संगठन र जीवनको दाउ
नेकपा एमालेले कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अघि सारेर आफ्नो बलियो संगठनको लाभ लिन खोजेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रका २३ वडामध्ये १८ वटामा एमालेले जित हासिल गर्नु घिमिरेका लागि सबैभन्दा ठूलो आधार हो ।
यद्यपि, प्रदेशसभामा मोरङ क्षेत्र नम्बर ४९२० मा काँग्रेसका नेता भीम पराजुलीसँग पराजित भएका घिमिरेका लागि एमालेको त्यो वडागत मतलाई केन्द्रको चुनावमा कसरी जोगाउने भन्ने मुख्य चुनौती छ । अघिल्लो निर्वाचनमा एमाले उम्मेदवारले पाएको २४ हजार ४६३ मतलाई वृद्धि गर्दै त्रिकोणात्मक प्रतिस्पर्धामा बाजी मार्ने रणनीतिमा एमाले देखिन्छ ।
निर्णायक बन्न सक्छन् नयाँ दल र युवा मत
यसपटकको चुनावमा पूर्वपत्रकार सन्तोष राजवंशी (रास्वपा) को उम्मेदवारीले परम्परागत दलका नेताहरूलाई सशंकित बनाएको छ । अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवारले ल्याएको ५ हजार ३३३ मत यसपटक बढ्ने आँकलन गरिएको छ । यदि राजवंशीले उल्लेख्य मत ल्याएमा त्यसले मोदी, गुरुराज वा जीवनमध्ये कसको मत बढी काट्छ, त्यसैले हार–जितको फैसला गर्नेछ ।
अंकगणितको पेचिलो खेल
१ लाख १९ हजार २५५ मतदाता रहेको मोरङ–४ मा ग्रामथान, कटहरी, बेलबारीका ५, ६, ७ वडा र विराटनगर महानगरका १, २, ३, ८, १० र १९ वटा वडा पर्दछन् । यस क्षेत्रमा १ लाख (१९ हजार २ सय ५५ ) मतदाता रहेका छन् । २०७९ को समानुपातिक मत परिणाम हेर्दा कांग्रेस पहिलो १९ हजार ५५५, एमाले दोस्रो (१८ हजार ३८६) र माओवादी तेस्रो (९ हजार ७६०) स्थानमा छन् ।
गठबन्धन विनाको यो प्रतिस्पर्धामा माओवादीको मत निर्णायक देखिन्छ भने कांग्रेस र एमालेबीचको मतान्तर निकै कम छ । हालैको ग्रामथान उपनिर्वाचनमा माओवादीले जित हात पार्नुले मोदीलाई केही राहत दिएको छ भने कांग्रेस र एमालेलाई थप मेहनत गर्नुपर्ने सन्देश दिएको छ ।