खबर पूर्वाञ्चल
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भेनभित्र तस्करी हुन लागेको १ सय २० किलो गाजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निलो त्रिपालले छोपेको पिकअपभित्र गाँजा र अदुवा फेला परेको हो । ‘गाडी भित्र तीन वटा सेतो बोरामा प्याकिङ गरिएको अवस्थामा गाँजा, अदुवा र ६ पोका ४५ केजी धानको भुस पनि बरामद भएको छ,’ उनले भने ।
बोराभित्र हालेर सबैभन्दा तल गाँजा र अदुवा राख्दै माथिबाट धानको भुसले छोपेको अवस्थामा पिकअपलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । तस्करी गरेर गाँजा र अदुवा भारततिर लैजान खोजिएको हुनसक्ने प्रहरीले बताएको छ ।
नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएका थिए । फरार रहेका चालकको खोजी तीव्र पारिएको छ । प्रहरीले एक हप्ता अगाडी पनि १४ किलो गाँजासहित जहदा–१ का ३२ वर्षीय मुन्ना मलाहालाई पक्राउ गरेको थियो । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा सहित प्रहरीले मलाहालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मलाहा भरिया हुन् ।
पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाइछिपाइ ल्याएर नाका कटाएर भारत पु¥याउने धन्दामा उनी संलग्न रहेको पाइएको छ । प्रहरीका अनुसार नेपालमा गाँजा प्रति किलो २० हजार रुपैयाँसम्ममा किनबेच हुन्छ । नेपालमा भन्दा भारतमा दोब्बर बढी मूल्यमा बिक्री हुने भएकाले गाँजाको अवैध ओसारपसार भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ ।
अवैध गतिविधि एवं अपराध नियन्त्रणका लागि सुरक्षा उपस्थिति बढाएर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । उनका अनुसार नजिकिँदो स्थानीय तह निर्वाचनलाई पनि लक्षित गरेर निगरानी बढाउँदै सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको हो । विशेष टोली परिचालन गर्दै एसपी कोइरालाले सिमानामा उच्च सतर्कता अपनाउन निर्देशनसमेत दिएका छन् ।