AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम अन्डर-१६ मेयर कप फुटबलको  आदर्शलाई  उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०८२, आईतवार १९:२६
99
Shares
विराटनगर / प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ ।

विराटनगर महानगरपालिकाको आयोजनामा भएको विराटनगरस्थित शहीद रंगशालामा आज भएको फाईनल खेलमा डनबस्को (निलगिरी) लाई ३–० गोलअन्तरले पराजित गर्दै आदर्श माविले उपाधि जितेको हो । उपाधिसँगै आदर्शले १ लाख २५ हजार नगदका साथ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आदर्शका लागि एलन थापा, दिलीप यादव र आदिप्त्य ढुंगेलले १–१ गोल गरेका थिए । फाईनल खेलको प्लेयर अफ द फाईनल डनबस्कोका उदेश केसी घोषित भए । उनले नगदसहित ट्रफी हात पारे ।

त्यस्तै उपविजेतामा सीमित डनबस्कोले नगद ७५ हजारसहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गरेको छ । सेन्ट जोसेफ र जनता नमुना माविलाई तेस्रो पुरस्कार प्रदान गरिएको छ । दुवै विद्यालयलाई नगद ३५–३५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताको समन्वय गरेको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार आदर्शका एलन थापाले प्राप्त गरे । सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा डनबस्कोका प्रकाश कामत घोषित भए । उत्कृष्ट गोककिपरको पुरस्कार आदर्शका योगेश राजवंशीले हात पारे ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले नगदसहित शिल्ड प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी वर्षदेखि प्रतियोगितालाई अझै भव्य बनाउने प्रतिबद्धता जनाए ।

विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता अत्यन्तै भव्य भएकोमा मेयर कोइरालाले खुशी व्यक्त गरे । कोइरालाले प्रतियोगितामा हारजित हुने भएकाले पराजित हुने खेलाडीहरुलाई हतोत्साहित नभई अर्को प्रतियोगितामा विजेता बन्ने गरी आजैदेखि तयारी गर्न आग्रह गरे ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले छोटो तयारीका बीच पनि प्रतियोगिता भव्य भएको बताए ।

खेलाडीहरुको समन्वय र मेहनतका कारण आदर्शले उपाधि जित्न सफल भएको प्रशिक्षक सुमन श्रेष्ठले बताए ।

माघ ६ गतेबाट सुरु भएको प्रतियोगितामा संस्थागत र सार्वजनिक गरी २५ वटा विद्यालयको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर