AArya
RUMPUM
animated ellipse animated ellipse

निजी क्षेत्रलाई त्रसित बनाएर आर्थिक समृद्धि सम्भव छैन : रास्वपाका नेता मनिष झा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०८३, मंगलवार १९:२७
3
Shares
विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मनिष झाले निजी क्षेत्रलाई आतङ्कित बनाएर देशमा लगानीको वातावरण बन्न नसक्ने बताएका छन् ।

विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उद्योगी, व्यवसायीहरू त्रसित रहँदासम्म आर्थिक समृद्धि सम्भव नभएको बताएका हुन् ।

“निजी क्षेत्रलाई आतङ्कित बनाएर देशमा लगानीको वातावरण बन्न सक्दैन, अहिले उद्योगीहरू त्रसित छन्,” झाले भने । इतिहासमै सबैभन्दा सस्तो ब्याजदर हुँदा पनि लगानी बढ्न नसक्नुमा निजी क्षेत्रमाथिको सरकारी अविश्वास नै मुख्य कारण रहेको उनले बताए । उनले आफू राजनीतिज्ञका साथै व्यवसायी पनि भएको उल्लेख गर्दै भने, “म राजनीतिज्ञ मात्र होइन, म व्यवसाय पनि गर्छु तर म भ्रष्टाचार गर्दिनँ, मलाई व्यवसायी हुँ भन्न लाज लाग्दैन ।”

लोकतन्त्रमा प्रेस क्षेत्र स्वतन्त्र र मर्यादित हुनुपर्नेमा जोड दिँदै उनले अहिले पत्रकारिता क्षेत्रले अनेक चुनौती भोगिरहेको बताए । राजनीतिक दलहरूले सञ्चारमाध्यमलाई आफ्नो ‘भर्ती केन्द्र’ र ‘मुखपत्र’ बनाउँदा मिडियाको विश्वसनीयता घटेको उनले बताए । स्वतन्त्रताको सीमाबारे चर्चा गर्दै उनले भने, “तपाईंको स्वतन्त्रता त्यहाँसम्म मात्र हुन्छ जहाँसम्म तपाईंको हातले अरूको नाक ठोक्दैन ।” उनले सामाजिक अपराधबाट बच्नका लागि धार्मिक संस्था र पत्रकारिता क्षेत्रलाई सुरक्षित ओत बनाउने विकृति बढिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

मिडियाले कसैको गोपनीयताको सम्मान गर्नुपर्ने बताउँदै उनले केही ‘लाइक’ र ‘डलर’का लागि कसैको जिन्दगी बर्बाद गर्ने अधिकार कसैलाई नभएको बताए । गलत सूचना दिएर कसैको मानमर्दन गर्ने र मानिसहरूलाई आत्महत्या गर्न बाध्य पार्ने प्रवृत्तिलाई रोक्न कडा कानुन आवश्यक रहेको उनले बताए । “प्रेस काउन्सिलमा गलत सूचना प्रवाहका कारण परेका उजुरीहरूको सङ्ख्या बढ्नुले पत्रकारिताको स्तरमा प्रश्न उठाएको छ,” उनले भने ।

एआईको जमानामा सूचना छिटो आए पनि यसले पत्रकारितालाई ‘एथिक्स’ र ‘डाइरेक्सन’ दिन नसक्ने उनले बताए । निर्वाचनका बेला आफू स्वयं ‘डीप फेक’ भिडियोको सिकार भएको स्मरण गर्दै उनले प्रविधिको गलत प्रयोगले मानसिक तनाव सिर्जना गरिरहेको बताए । सांसद झाले आफू धनुषाको प्रतिनिधि भए पनि सदनमा समग्र देश र नागरिकका साझा मुद्दाहरूको सशक्त प्रतिनिधित्व गरिरहने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर