महामारीमा ज्येष्ठ नागरिकको सम्बोधन एवम् ब्यवस्थापन

खबर पूर्वाञ्चल, १५ आश्विन २०७७, बिहीबार ०५:२४

विमल नेपाल
कोभिड १९ ले विश्वब्यापी महामारीको रुप लिईरहँदा त्यसको सबैभन्दा गम्भीर प्रभाव ज्येष्ठ नागरिकहरुमाथि परेको छ, जसका कारण आगामी दशकमा औसत आयूमा कमी आई ज्येष्ठ नागरिकहरुको संख्यामा कमी आउने त होइन ? भन्ने जस्ता चासो र चिन्ताहरु ब्यक्त हुन थालेका छन् ।

कोरोना भाईरसको उदयसँगै यसले विश्वभरको जनसांख्यीक बनावटमा उथलपुथल ल्याइदिने संभावना बढेर गएको छ । यद्यपि प्राप्त तथ्यांकहरुको बिश्लेषण गर्ने हो भने विश्वका मानिसहरुको औपत आयु थपिँदो छ ।

अहिले विश्वका अति विकसित देशहरुमा ज्येष्ठ नागरीकहरु समस्या र चूनौतीको बिषय वनिसकेका छन् भने विकाससील तथा कमजोर अर्थतन्त्र भएका देशहरुमा पनि ज्येष्ठ नागरिकहरुको संख्या पनि क्रमशः बढ्दो छ ।

वीसौं शताब्दीको अन्त्य तथा एक्काईसौं शताब्दीको पूर्व सन्ध्यामा विश्वमा दीर्घ जीवन सम्वन्धी भएका क्रान्तिका कारणबाट तिनको संख्यामा बढोत्तरी भएको थियो । सन् १९५० मा जन्मदा विश्वका मानिसको औषत आयू २० वर्ष मात्र थियो भने सन् २००० सम्ममा ६६ वर्ष पुग्यो । सन् २०२० मा ७३ बर्षको हाराहारी रहेको छ भने आगामी सन् २०५० सम्ममा अझै १० वर्ष बढ्ने अपेक्षा गरिएको छ । विश्वमा ज्येष्ठ नागरिकहरुको आकार थपिदै जाँदो छ । यसले एक प्रकारको जनसांख्यीक विजय प्राप्त गरेको छ, किनभने सन् २००० मा ६० वर्ष भन्दा माथिको जनसंख्या ६० करोड भएको र यसमा वृद्धि भई स्न २०५० सम्ममा झण्डै २ अरब पुग्ने अनुमान गरिएको छ । ज्येष्ठ नागरिकहरुको अनुपात सन् १९९८ मा १० प्रतिशतबाट सन् २०२५ मा १५ प्रतिशत पुग्ने म्याड्रिड कार्ययोजनाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आगामी दशकमा नेपाल जस्ता विकाससील देशहरुमा ज्येष्ठ नागरीकहरु मुख्य समस्या हुने देखिन्छ । ज्येष्ठ नागरिकहरुको तीव्र वृद्धि एक्काइसौ शताब्दीको शुरुको आधा अवधिमा उल्लेखनीय रुपमा हुने संकेत मिल्छ । किनभने विकाससील देशहरुमा भरखरै मात्र औसत आयूमा नाटकीय ढंगबाट सुधार आउ“दैछ । आधुनिक विज्ञान र प्रविधिको बिकास, मानिसकै जीवनशैलीमा आएको सुधारात्मक, परिवर्तन, मानिसको चेतनामा भएको अभिवृद्धि आदि कारणहरुले गर्दा हाल आएर मानिसहरुको सरदर बाच्ने आयु लम्बिन गएको हो । विकाससील देशहरुमा यस अघि औषत आयू कम थियो । फलतः व्यक्तिहरु आप्mनो लामो जीवन बा“च्न पाउ“दैनथे । तर विकसित देशहरुमा विकाससिल देशहरुमा भन्दा अगाडि नै औसत आयूमा बृद्धि भएकाले यस अघि नै उनीहरुले दीर्घ जीवन पाइसकेका छन् ।

विकाससील देशहरुमा देखिएको यो जनसांख्यीक परिवर्तनले राज्यले तय गरेका नीति तथा कार्यक्रमहरुमा चूनौती खडा गरेको छ । खासगरी आर्थिक सम्पन्नता भएका विकसित देशहरुमा ज्येष्ठ नागरिकहरुको संख्या वृद्धि हु“दै गरेको भएतापनि तिनले वृद्धावश्था तथा निवृत्तभरण प्रणालीको दीगोपनाको व्यवस्था मार्फत उत्पन्न हुने चूनौतिको सामना गर्न सक्ने वातावरणको सिर्जना गरेका छन् भने विकाससील र खासगरी कमजोर अर्थतन्त्र भएका देशहरुले विकास एवं जनसंख्या वृद्धिको चूनौतीको सामना स“गस“गै गरिरहेका छन् । विकाससील देशहरुमा थपिदो ज्येष्ठ नागरिकहरुका सम्वन्धमा ठोस कार्ययोजना दिगोरुपमा अपनाउन शुरु गर्नु पर्ने देखिन्छ ।

यसरी जनसांख्यीक संक्रमणको अवस्थामा रहेका देशहरुमा होस वा संक्रमण पार गरिसकेका देशहरुमा होस ज्येष्ठ नागरीकहरुको थपिदो संख्या समस्या र चूनौतिको रुपमा देखापरेको छ । विश्वव्यापीकरण जतिकै भविष्यलाई आकार दिने क्षमता रहेका ज्येष्ठ नागरीकहरु विश्वव्यापी शक्तिका रुपमा उपस्थित भैसकेको सन्दर्भमा उनीहरु प्रतिको विश्वको चासो पनि बढ्दैछ ।

ज्येष्ठ नागरिकहरु प्रति विश्वको ध्यान आकृष्ट भएको त्यति लामो समय भएको छैन । सन् १९७९ मा संयुक्त राष्ट्र संघको ३४ साधारण सभामा ज्येष्ठ नागरिकका समस्यामा पहिलो पटक छलफल भएपछि उनिहरुका सम्वन्धमा थप चासो राख्न थालिएको हो । यसको ठिक तीन वर्ष पश्चात् सन् १९८२ मा ज्येष्ठ नागरीक सम्बन्धी पहिलो विश्व सम्मेलन भियनामा सम्पन्न भयो जसले बृद्धावश्था सम्वन्धी अन्तर्राष्ट्रिय कार्ययोजना पारित गर्यो । ज्येष्ठ नागरिक सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन हुन २० वर्ष कुर्नुप–यो । सन् २००२ मा म्याड्रिडमा दोस्रो जेष्ठ नागरिक सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन ‘बृद्धावस्था सम्बन्धी म्याड्रिड अन्तर्राष्ट्रिय कार्ययोजना २००२’ सहित पारित गरियो । खासगरी ज्येष्ठ नागरिकहरुको जीवन सहज र सम्मानित तुल्याउन सघाउ पु–याउने उद्देश्यले ज्येष्ठ नागरिक र विकास, वृद्धावश्थामा उन्नत स्वास्थ्य स्थिति र आनन्दमय जीवन, ज्येष्ठ नागरिकहरुका लागि सम्वद्ध वातावरणको सृजना र यसको सुनिश्चितता जस्ता तीनवटा प्राथमिक क्षेत्र र यस अन्तरगत १८ वटा उपक्षेत्रहरु कार्ययोजना निर्दिष्ट गरिएको छ ।

यस अघि सन १९९१ को डिसेम्बर १६ मा ‘संयुक्त राष्ट्र संघद्धारा ज्येष्ठ नागरिकहरुका लागि प्रतिपादित सिद्धान्तहरु’ पनि पारित गरिसकेको छ । संयुक्त राष्ट्र संघले १९९१ सेक्टेम्वर १ देखि हरेक वर्ष अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन आह्वान गरे अनुरुप सदस्य राष्ट्रहरुले यसवर्ष ३० आँै अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउदैछन् । साथै संयुक्त राष्ट्र संघले विश्वको ध्यान ज्येष्ठ नागरिकहरु प्रति आकृष्ट गर्न सन १९९९ मा ‘सबै उमेरका व्यक्तिहरुका लागि समाज’ को नारासहित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्ष समेत घोषणा समेत गरिसकेको थियो । यस वर्ष अक्टोबर १ मा मनाउन लागिएको अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा “पेण्डेमिकः डु दे चेञ्ज हाउ वी अड्रेस एज एण्ड एजिङ” भन्ने तर्जूुमा भएको छ, जसले विश्वभरीका सरकार तथा सरोकारवालाहरुलाई महामारीको समयमा ज्येष्ठ नागरिकहरुका लागि गरिने संबोधनका तरिकाहरु बदल्न र सो अनुरुपका रणनीतिहरु तर्जुमा गर्न अभिमुखीकरण गरेको छ ।

ज्येष्ठ नागरिकहरु चूनौति र समस्याको बिषय बनीरहेका बेला स्वयं ज्येष्ठ नागरिकहरुले समस्या भोग्नु परिरहेको छ । बदलिदो विश्वको सामाजिक आर्थिक वातावरण, बिभिन्न महामारीहरुको प्रकोप, मानिसहरुको भौतीकबादी संकीर्ण सोचाई, चरम गरिबी, परिवारको विचलन (संयुक्त परिवारबाट एकल परिवार तर्फ), शहरीकरण र बसाई“ सराइले ज्येष्ठ नागरीकहरु पीडित छन । परिवारका सदस्यहरु ज्येष्ठ नागरिकहरुस“ग कतिपय अवश्थामा चाहेर पनि वस्न सक्दैनन् । एकातिर मानिसको व्यस्तता, सुचना प्रविधिमा आएको विकास र विस्तार तथा रोजगारीले गर्दा समाजका ज्येष्ठ नागरिकहरु एक्लै हुदै गइरहेका छन् भने अर्कोतिर परिवारका सदस्यहरुको संकीर्ण चिन्तन र पश्चिमी जीवन शैलीको अन्धाधुन्ध अनुकरणले ज्येष्ठ नागरीकहरु बढी जटील जीवन जीउन बाध्य छन् । त्यसमा पनि ज्येष्ठ महिलाहरु पुरुषहरु भन्दा बढी पिडित छन् । वृद्ध अवस्थामा हुने स्वास्थ्य समस्याहरु महिलाहरुमा बढी देखिएका छन् । सानै उमेरदेखि भोग्दै आएको लैङ्गिक बिभेद ज्येष्ठ उमेरका महिलाहरुमा पनि कायम नै छ ।

प्रस्तुत पृष्ठभूमिले बिकाससील देशहरुको ज्येष्ठ नागरिकको स्थिति र अन्तराष्ट्रिय रुपमा उठिरहेको चासोलाई देखाउँदछ र अबका दिनहरुमा उक्त समस्या र चुनौतिहरुलाई सामना गर्न ज्येष्ठ नागरिकहरुको व्यवस्थापन गरिनु पर्ने आवश्यकता दर्शाउछ । अझ हाल देखापरेको कोभिड महामारीको समयमा ज्येष्ठ नागरिकहरुले सामना गर्ने उच्च जोखिमलाई ध्यानमा राखि सरकारहरुले सोही अनुरुपका नीति तथा कार्यक्रमहरुको प्रभावकारी ब्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । ज्येष्ठ नागरिकहरुको आधारभुत मानव अधिकारको सुनिश्चितता, वृद्ध अवस्थामा पाउनु पर्ने सामाजिक–आर्थिक सुरक्षा र सम्मान, ज्ञान, अनुभव र सिपको सदुपयोग, उन्नत स्वास्थ्य अवस्था, ज्येष्ठ महिला र पुरुष बिच गरिने लैङ्गिक बिभेदको अन्त्य लगायतका विषयहरु ज्येष्ठ नागरिक व्यवस्थापनका मुल मुद्धाहरु हुन् । यिनै मुद्दाहरुको सहि एवम् नवीन ढंगबाट प्रभावकारी संबोधन तथा ब्यवस्थापन गर्न यो महामारीबाट पाठ सिक्न ढिला गर्नु हुँदैन ।

लेखक सुनसरी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका उप प्राध्यापक हुन्  ।              bimaljmc@gmail.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५