खबर पूर्वाञ्चल
विराटनगर /मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ घर भएका २७ वर्षीय थापा आज विहानको करिब पौने १ बजे तिर दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए । कोशी प्रदेश अलराउण्डर खेलाडी थापाले केही फ्रेन्चआई लिगसमेत खेलिसकेका छन् ।
राष्ट्रिय खेलाडीको निधनले परिवार, आफन्त र क्रिकेट प्रेमीलाई स्तब्ध बनाएको छ । परिवारका अनुसार मृतक थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन् । उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्थे ।