कैदीबन्दीको चौतर्फी विरोधको बिच अभिषेक गिरीलाई नाइके बनाएर विराटनगर कारागार भित्र्याए

खबर पूर्वाञ्चल, ९ मंसिर २०७८, बिहीबार १४:१७

विराटनगर / कैदीबन्दीहरूको चौतर्फी विरोधको बापजुत पनि विराटनगर कारागारमा अभिषेक गिरीलाई नाइके बनाएर ल्याएको छ । आज (बिहीबार) बिहानका राति ४ बजेतिर गिरीलाई विराटनगर कारागारभित्र छिराइएको हो ।

दिउँसो ल्याउँदा विरोध हुने भएकोले गिरीलाई प्रशासनले सुटक्क राती सप्तरीदेखि ल्याएर विहानको राती कारागार प्रवेश गराएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

गिरीले रोजेको ठाउँमा सरुवा गर्दै आएको कारागार व्यवस्थापन विभागले उनलाई अनुकूल हुने निर्णय गर्ने क्रम जारी राखेको थियो । यही क्रममा बुधबार मोरङ कारागारमा रहेका गिरीको विरोधी मानिने चौकीदारसहितका ८ जना कैदीबन्दीलाई सिन्धुली सरुवा गरिएको छ ।

गिरीलाई मोरङ कारागार ल्याउन नहुने भन्दै आन्दोलनमा उत्रिएकामध्ये कैदीबन्दीको तेस्रो लट सरुवा भएको हो । यसअघि दुई चरणमा गिरिको विरोधमा उत्रने कैदीबन्दीको सरुवा गरिएको छ । काँग्रेस नेता अमृत अर्यालको पहलमा गृहमन्त्री बालकृष्ण खाँडले गिरीले चाहेजस्तो निर्णय गराउँदै आएका छन् । काँग्रेसले गिरीलाई मोरङ नल्याइ नछाड्ने हठले मोरङ कारागारलाई भने निरन्तर तनावको भुंग्रोमा पार्दै आएको छ ।

गिरीलाई मोरङ कारागार पठाउन विभागले दुई महिनायता निरन्तर प्रयास गरिरहेको थियो । तर, कैदीबन्दीले आन्दोलन गरेपछि गिरीको मोरङ कारागार प्रवेश सम्भव भइरहेको थिएन । ढेड महिनामा तीन पटक चौकीदार फेरेपछि बिहीबार विहान सुटुक्क गिरीलाई कारागार छिराएको हो ।

गिरीलाई विराटनगर कारागार ल्याउन चौकीदार कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरीलाई सरुवा गरिएको छ ।

सरुवामा परेकालाई निकाल्न खोज्दा मोरङ कारागारको अवस्था बुधबारसाँझ तनावपूर्ण बन्यो । ठुलो संख्यामा प्रहरी परिचालन गरेर आठ जनालाई निकाल्न खोज्दा विरोधमा उत्रिएका कैदीबन्दीले कारागारमा आगजनी गर्ने धम्की दिएका थिए । त्यसपछि प्रहरी टोली फिर्ता भएको थियो ।

राति १० बजेतिर पुनः गएको प्रहरी टोलीले सरुवामा परेका चौकीदार कामत र सिटी नाइके परियारलाई मोरङबाट निकालेर सिन्धुली कारागार लगेको छ । सरुवामा परेका अन्य छ जनालाई निकालेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५