खबर पूर्वाञ्चल
सबै उम्मेदवारहरु चुनावी दौडमा रहेका बेला घरदैलो अभियानमा भेटिएका एमालेका उम्मेदवार ढकालले मोरङ क्षेत्र नम्बर ३ का जनताले स्थायी सरकार चाहेको बताए । गठबन्धनको उद्देश्यलाई जनताले राम्ररी बुझिसकेको भन्दै उनले देश र जनताको हितका लागि पनि एमालेले विजय प्राप्त गर्ने विश्वास ब्यक्त गरे । उनले भने ‘जनताले स्थायी सरकार चाहनुभएको छ, स्थायी सरकार बनाउन सक्ने पार्टी भनेको एमाले मात्रै हो भन्ने यहाँका जनताले राम्ररी बुझ्नुभएको छ ।’ अघिल्लो पटक आफूले निर्वाचन जितेर गएपछि क्षेत्रका लागि गरेका कामको बारेमा पनि सबै जानकार रहेको भन्दै उनले यहाँको प्रमुख समस्याहरु खोलाको तटबन्ध गर्ने कामको प्रारम्भ भइसकेको बताए।
यस्तै यहाँको सुकुम्बासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न अन्तिम तयारी भइरहेका बेला गठबन्धनको सरकार बनेपछि त्यसलाई भत्काएको समेत जनताले बुझेको प्रष्टयाए । ‘एमालेले सुकुम्बासी तथा भूमिहीनको समस्या तत्काल समाधान गर्ने भयो भन्ने बुझेर ओली नेतृत्वको सरकारले बनाएको आयोग नै गठबन्धन सरकारले खारेज गरेको जनतालाई थाहा छैन र ? उनले प्रतिप्रश्न गर्दै भने ।
मोरङ– ३ का जनता अब लोभ–लालचमा फसेर आफ्नो र सन्तानको भविष्य अन्यौलमा पार्ने पक्षमा छैनन् । यस्तै मोरङ– ३ कम्युनिष्टहरुको जनाधार भएको क्षेत्र पनि रहेको भन्दै एमालेले निर्वाचन जित्नु स्वभाविक हुने बताए । त्यसबाहेक पनि यहाँका जनता देशको भविष्यका लागि एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियान सार्थक हुनुपर्छ भन्ने पक्षमा रहेको ढकालले बताए ।
राष्ट्रिय स्वाभिमान रक्षाका निम्ति एमालेले खेलेको भूमिका, नेपालको भूमि रक्षाका निम्ति एमालेले चालेको कदम र भारतीय नाकाबन्दी विरुद्धको लडाईँलाई यहाँका जनताले नजिकबाट हेरेको मात्र नभई मनैदेखि समर्थन गरेको समेत उन चर्चा गरे । उनले भने, ‘फेरि पनि मिलिजुली, पालैपालो सरकार चलाउने अस्थिर राजनीतिलाई प्रश्रय दिने पक्षमा मोरङ– ३ का जनता हुनुहुन्न यो मेरो पूर्ण विश्वास हो ।’
उनले यस क्षेत्रको विकासमा यहाँका जनता र स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा तिव्रतर काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले भने ‘हामी कसैको विरोध गर्ने पक्षमा छैनौं, चुनावी प्रतिफल एमालेको पक्षमा आउँछ, जनताबाट मैले त्यही विश्वास पाएको छु ।