खबर पूर्वाञ्चल
आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा साहित्य, पत्रकारिता, कला, संस्कृतिलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई प्रतिष्ठानले पुरस्कृत गरेको हो ।
समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापित ५१ हजार नगद राशिको ‘बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ संस्कृतिविद् प्रा.डा. वीणा पौड्याललाई समर्पण गरिएको छ । त्यस्तै समारोहमा समाजसेवी दिनेश सुवेदीद्वारा आफ्ना भाइको नाममा स्थापित ५१ हजार राशिको ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाल, समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित १ लाख १ हजार राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’बाट साहित्यकार दामोदर पुडासैनी पुरस्कृत भएका हुन् । त्यस्तै वरिष्ठ कलाकार माया पौडेललाई साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित ५१ हजार राशिको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ र बालप्रतिभा आठ वर्षीया प्रिन्सा रेग्मीलाई साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ५१ हजार राशिको ‘केदार–मञ्जु सत्याल बाल चेतना पुरस्कार’ समर्पण गरिएको थियो । सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, आयोजक संस्थाकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी र पुरस्कारका संस्थापकहरुले संयुक्त रुपमा अविर, माला लगाइदिएर सम्मानपत्र र नगद राशि प्रदान गरे ।
समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुका नाममा स्थापना गरेको ‘ओमप्रकाश गोयल समाजसेवी चेतना पुरस्कार’ भने पुरस्कृत व्यक्ति मदन राई विशेष कारणले समारोहमा उपस्थिति नभएका कारण समर्पण गरिएन । राईलाई अर्को वर्षको कार्यक्रममा समर्पण गरिने आयोजकले जनाएको छ । समारोहमा प्रतिष्ठानले वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई मानर्थ सदस्य र साहित्यकार कविता चापागाईंलाई विशिष्ट सदस्यबाट विभूषित गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले चेतना प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत गरेर प्रशंसनीय कार्य गरेको बताए ।
आयोजक संस्थाकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले सबैको भावनालाई आत्मसात गर्दै प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । उहाँले साहित्यसँगै मानवीय सेवाका काममा समेत प्रतिष्ठान समर्पित भएको उल्लेख गरिन ।
कम उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान दिने पोखराकी ८ वर्षीया बालिका प्रिन्सा रेग्मीले कोरोना महामारीबाट समाजलाई बचाउन मास्क, गरीब विद्यार्थीका लागि शैक्षिक सामाग्री, खाद्यान्न , लत्ताकपडा वितरण गरेको र आगामी फागुन ८ गतेदेखि कल्थ बैंक सञ्चालन गर्ने जानकारी दिइन् । बालिकाले आफूलाई पकेट मनिको रुपमा अभिभावकाबाट प्राप्त भएको पैसाबाट थोरै सङ्ख्यामा सेवा गर्ने मौका पाएकोमा खुशी व्यक्त गरिन् । रेग्मीले धन सम्पत्ति कमाउनेतिर मात्रै होइन अरुलाई दिनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।
पुरस्कृत व्यक्ति र पुरस्कारका संस्थापकहरुले समेत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पाणिनी संस्कृत विद्यालयका बटुकहरुले स्वस्ती वाचन गरेका थिए । त्यस्तै भानु कला केन्द्र विराटनगरका कलाकारहरुले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
२०६१ सालमा स्थापित प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार साहित्य गोष्ठी, त्रैमासिक रुपमा साहित्यिक पत्रिका प्रकाशन, होली मिलन कार्यक्रम, विपन्न समुदायलाई न्यानो कपडा वितरणलगायतका कार्यक्रम समेत गर्दै आएको छ ।