AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न व्यवसायीहरूको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०८२, बुधबार १७:१७
162
Shares
विराटनगर/ कोशी प्रदेशका उच्च मूल्य भएका कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।

विराटनगरमा इनोभेट नेक्स्ट इम्प्याक्ट संस्थाले आयोजना गरेको कोशी प्रदेशका निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरू सम्बन्धी सार्वजनिक(निजी सम्वाद कार्यक्रमका सहभागीहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न सरकारी निकायसँग जोड गरेका हुन्।

कार्यक्रममा अलैँची व्यवसायी नारायणप्रसाद चिमरियाले नेपालको पूर्वी क्षेत्रमा धेरैजसो उत्पादन हुने अलैँचीका लागि भारतीय बजारमा मात्रै निर्भर हुनु्परेको गुनासो गर्नु भएको थियो । उहाँले सरकारले धेरै मूल्य पाइने तेस्रो राष्ट्रहरूमा निर्यातका लागि सहजीकरण नगरिदिएकाले भारतमै मात्र निर्भर हुनु परेको बताए।

चिमरियाले नेपालमा उत्पादित अलैँचीको उच्च मूल्य पाउन सोलार वा इलेक्ट्रिक ड्रायरमा सुकाउन जरुरी रहेको र किसानलाई सरकारले अलैँची सुकाउने ड्रायर उपलब्ध गराएर अलैँचीको गुणस्तर बढाउन आवश्यक रहेको सुझाव दिए।

कफी व्यवसायी अभिनायक मल्लले नेपालमा कफी खेतीको राम्रो सम्भावना, पर्याप्त बजार हुँदा हुँदै पनि बजार माग अनुसार उत्पादन हुन नसकेको बताए। मल्लका अनुसार नेपालमा वार्षिक २ हजार २ सय मेट्रिक टन कफीको माग भए पनि हाल ५ सय ५५० मेट्रिक टन मात्रै आन्तरिक रूपमा उत्पादन भइरहेको छ ।

उनले नेपालको कफीको माग अन्तर्राष्ट्रिय बजारमा पनि उच्च रहेकाले कफीबाट पर्याप्त लाभ लिन गुणस्तर कायम राख्दै उत्पादन बढाउनु आवश्यक रहेको धारणा राखे।

त्यस्तै, छुर्पी व्यवसायी राजेन्द्रकुमार श्रेष्ठले नेपालबाट निर्यातको राम्रो सम्भावना रहेको बताए। उनले विगत २० वर्षदेखि छुर्पी निर्यात गर्दै आएकोमा पछिल्लो ११ महिनामा ४ अर्बको छुर्पी निर्यात गरेको बताउँदै गुणस्तर छुर्पी उत्पादनका लागि उन्नत नश्लको गाईको पालनलाई सरकारले प्रोत्साहन गर्नु पर्ने बताए।

कार्यक्रममा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले सङ्घीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारले चाहेर पनि बजार व्यवस्थापन, निर्यात प्रवर्धन र उत्पादन वृद्धिका लागि काम गर्न नसकेको बताए। उनले सरोकारवालाहरूको माग अनुसारको नीति निर्माण गर्नमा समेत जोड दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा इनोभेट नेक्स्ट इम्प्याक्टका निर्देशक तपेन्द्र चन्दले संस्थाले उद्यमीहरूलाई उद्यम गर्न, बजारीकरण र निर्यातमा सहजीकरण गरिरहेको जानकारी दिए। उनले संस्थाले कृषि क्षेत्रको दिगो विकासलाई ध्यानमा राख्दै कृषकको मागलाई सरोकारवाला सरकारी निकाय सम्म पुर्‍याएर कृषक र कृषिको स्तर वृद्धिका लागि कोशी प्रदेशमा सक्रिय रहेको बताए।

इनोभेट नेक्स्ट इम्प्याक्टकी कार्यक्रम संयोजक इसीका अग्रवालले संवाद कार्यक्रममा व्यवसायीहरूले उठाएको मागहरूलाई नीति(संक्षेपमा समावेश गर्दै उक्त मागहरूको सम्बोधनका लागि सरोकारवाला सरकारी निकायमाझ पुर्‍याउने प्रतिबद्धता गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर