पूर्वाञ्चल खबर
आजकाल यो ठाँउबाट सुनचाँदी किन्ने होइन, बचत गरेको सावाँ र ब्याज माग्न सर्वसाधारण आइपुग्ने ठाँउ बनेको छ । यो त्यही सटर हो, जहाँ कहिले काँही ८३ वर्षीय चक्रबहादुर गुरुङ विहानैदेखि बेलुका अबेरसम्म ढोका खुल्ने आशामा उभिने गर्थे । अब त्यो प्रतीक्षा सकिएको छ । चक्रबहादुर बाँचेनन् । उनले बाँचेर देख्न पाएनन । उनले वृद्धभत्ताबाट थुपारेको ९ लाख रुपैयाँ कहिल्यै फिर्ता आउने छैन । सुनको व्यापार भनेर खोलिएको ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल’ बाहिरी आँखाले हेर्दा सामान्य सुन पसल थियो । तर भित्रभित्रै त्यो पसल बचत र ऋणको नाममा गरीब सर्वसाधारणको पसिना चुस्ने भूमिगत बैंकिङ नेटवर्क बनिसकेको थियो ।
सञ्चालक मनोज अधिकारी र उनका बाबु होमनाथ अधिकारीले करिब २५० जनाबाट १२ करोड रुपैयाँभन्दा बढी रकम उठाएर फरार छन् । पीडितमध्ये धेरै वृद्ध, घरेलु महिला, मजदुर, दैनिक श्रमिक, गाउले किसान र वैदेशिक रोजगारीबाट फर्किएकाहरू छन् ।
‘हामीले पैसा डुब्यो भनेको चार दिनमा बित्नुभयो चक्रबहार गुरुङ ,’ कानेपोखरी ६ रमाइलो बजारमा होटल संचालन गर्दै आएकीे भक्तिमाया गुरुङले भनिन, ‘उहाँले सरकारको वृद्धभत्ता र जोगाएको जग्गा बेचेर ९ लाख पठाउनु भएको रहेछ, एक रुपैयाँ पनि फिर्ता पाएन ।’
चक्रबहादुरको मृत्यु अधिकारी परिवारका लागि टाउको दुखाइको अन्त्य बन्यो, तर बाँकी २५० जना पीडितका लागि अझै नथाक्ने न्याय यात्राको सुरुआत भएको छ । सुरुमा पासबुक दिएर पीडितको विश्वास जितेका मनोज अधिकारीले पछि त्यसै पासबुक फिर्ता मागे । उनीहरूले सामान्य डायरीमा रकम लेखेर दिन थाले । पीडित रमाइलो बजारका उमेश विष्ट भन्छन्, ‘हामी त बुझेनौं, तर पछि थाहा भयो—यस्तो गरेपछि कानूनी हिसाबमा हामीसँग केही प्रमाण हुँदैन ।’
पीडितहरू भन्छन, ‘मनोजले नाफा देखाउने उेद्दश्यले बनाएको योजना ल्याएर एक किसिमको पिरामिड स्किम जस्तै जाल बुनेका थिए । नयाँ बचतकर्ताबाट उठेको पैसाले पुराना बचतकर्तालाई ब्याज दिइन्थ्यो ।’
मनोज र उनकी श्रीमती स्मिता अधिकारीले वृद्धभत्ता पाउने, अशिक्षित महिला र घरमै बस्नेहरूलाई विशेष रूपमा लक्षित गरे । ‘बचत गर्दा उच्च व्याज पाउनुहुन्छ, पैसा तुरुन्त निकाल्न सकिन्छ, हामी सुनचाँदी संघसँग दर्ता छौं’ भनेर विश्वास दिलाइन्थ्यो । उनीहरूले सुरुमा नाफा पनि बाँडेर ‘विश्वास निर्माण’ गरे ।
कानेपोखरी ७ आइतबारेकी विष्णुमाया गिरी भन्छिन्, ‘खसीबाख्रा पालेर, बालबचत गरेर जम्मा गरेको पैसा हो । ३० लाख डुब्यो । खाता हेर्दा आँखा रसाउँछ ।’ २० वर्षअघि खोलिएको पसलको पछिल्ला १२ वर्ष ‘गैरकानुनी बैंकिङ’ को प्रयोगशाला बने । मनोज यो जालको अग्रमोर्चामा थिए । तर यो परिवार एक्लैले होइन, बाँकी सदस्यहरूको भूमिकामा पनि प्रश्न उठेको छ । कुनै बेला रमाइलो बजारमा स्थापित र विश्वासिलो पसल थियो अधिकारी परिवारको सुन पसल । अहिले त्यही पसलले त्यसरी डुबाएर सञ्चालक वेपत्ता होलान् भन्ने कोही बचतकर्ताले कल्पना गरेका थिएनन् । यद्यपि त्यसरी बचत गर्नु गैरकानूनी हो । बचत लिनु पनि कानून विपरीतको कार्य हो ।
पसलका सञ्चालक बाबु छोरा भएपनि अधिकारी परिवारले नै मिलेर गैरकानूनी ढंगले रकम उठाए र करिब १२ करोड रुपैयाँको ठगी गरे । बैंकभन्दा बढी ब्याज दिने, चाहेको बेला तुरुन्तै पैसा झिक्न सकिने र घरदैलोमै आएर बचत सङ्कलन गर्ने उनको शैलीले धेरैलाई आकर्षित ग¥यो । वृद्धवृद्धा, मजदुर, सामान्य व्यापारीदेखि विदेशबाट आफन्तले पठाएको पैसा बचत गर्नेहरू सबै उनको आकर्षक योजनामा फसे ।
सुरुमा उनले बचतकर्ताहरूलाई संस्थाको छाप भएको पासबुक नै दिन्थे । तर, पछि कानुनी झन्झटबाट बच्न उनले चलाखी गरे । ‘पहिले सुनचाँदी अधिकारी भनेर पासबुक दियो, पछि तपाईंहरूको हिसाबकिताब मिलाइदिन्छु भनेर सबैको पासबुक जम्मा गरेछ र सामान्य डायरीमा लेखेर दिन थाल्यो,’ पीडित उमेश विष्ट भन्छन्, ‘मुद्दा नलागोस् भनेर यस्तो खेल खेलेको रहेछ, हामीले के जान्नु र १’
यो ठगीमा फस्नेहरू स्थानीय व्यापारी वा केही गन्नेमान्ने पनि छन् । तर, धेरै दिनरात पसिना बगाएर भविष्यका लागि दुई–चार पैसा जोहो गर्ने सामान्य मानिस छन् । यस्तै एक प्रतिनिधि पात्र हुन् कानेपोखरी ७ आइतबारी घर भएकी विष्णुमाया गिरी । उनी र उनका आफन्तहरूको करिब ३० लाख रुपैयाँ डुबेको छ ।‘ यो पैसा चोरेर वा डाँका गरेर ल्याएको होइन, दुःख गरेर कमाएको हो,’ गहभरि आँसु पार्दै विष्णुमायाले भनिनन्, ‘खाता हेर्नुभयो भने रुन मन लाग्छ । १० रुपैयाँ, २० रुपैयाँ गरेर जम्मा गरेको पैसा हो । छोराछोरीको भविष्यका लागि भनेर बालबचत गरेको थिएँ । खसी–बाख्रा पालेर, बेचेर जोडेको पैसा थियो ।’ उनको समूहमा रहेको २६ लाख रुपैयाँ १५ महिनाका लागि १५ प्रतिशत ब्याजमा फिक्स डिपोजिट गरिएको थियो भने बाँकी रकम चल्ती खातामा थियो । उनले एक रुपैयाँ पैसा फिर्ता पाइनन् ।
उनीजस्तै अर्की पीडित हुन् पर्शुराम फुयाँल । उनले आफ्नो ९ लाख २० हजार रुपैयाँ डुबेको बताए । स्थानीय ऋषिकेश लम्साल पनि पीडित हुन् । उनको पनि रकम डुबेको छ । ‘यहाँका दुई अढाइसय मान्छेको १ हजारदेखि ७० लाखसम्म सुन पसलले खाएको छ । अहिले अनुमानित १२ करोड भनिएको छ । एकिन विवरण छैन,’ पीडित लम्साल भन्छन् ।
गत दशैंको समयमा मनोज अधिकारी एकाएक बेपत्ता भए । उनका आमाबुबा अमेरिकामा थिए । जब पीडितहरूले आफ्नो पैसा फिर्ता माग्न थाले । उनीहरूले मनोज भागेको थाहा पाए । केही समयपछि मनोजकी आमा बाटुलादेवी अधिकारी नेपाल फर्किइन् । पीडितहरूले उनलाई घेरा हाले र वडा कार्यालयको रोहबरमा एउटा कागज गराए । जसमा उनले आफ्नो सम्पत्तिबाट ऋण तिर्ने वाचा गरेकी थिइन् ।
मनोजका परिवारले अहिले पनि विभिन्न बहाना बनाएर रकम नदिएको पीडितहरु बताउँछन् । मनोजकी आमाले ‘मैले खाएको होइन, म जान्दिनँ’ भन्न थालिन् भने बुहारी स्मिता अधिकारीले पनि आफूलाई केही थाहा नभएको बताउन थालेको पीडितहरु बताउँछन् ।
वडा कार्यालय नगरपालिकाको न्यायिक समितिदेखि प्रहरी प्रशासनसम्म धाउँदा पनि पीडितहरूले कुनै ठोस न्याय पाउन सकेका छैनन् । उनीहरूलाई एक निकायले अर्कोमा र अर्कोले अर्कोमा पठाएर झुलाउने काम मात्र भइरहेको छ । गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आफू साथमै जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म पुगेको बताए । ‘हामीले स्पष्टसँग ठगी मुद्दा हेर्ने कार्यक्षेत्र पालिकाको न्यायीक समितिको होइन, प्रहरीकोमा जानु भनेर स्पष्ट भनेका छौं,’
अधिकारीले भने, ‘बरु उहाँहरु नै गर्ने कि नगर्ने भन्ने दोधारमा भएको कारण समस्या आएको हो । उहाँहरुसँग म आफू पनि प्रहरीसँग गएको छु । पालिकाले यति ठूलो केसमा केही गर्न सक्दैन । पीडितको न्यायको लागि सल्लाह र सुझाव दिन सक्छ । त्यो हामीले दिएका छौं ।’