AArya
RUMPUM
animated ellipse animated ellipse

जेनजी आन्दोलनको नाममा प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा मोरङमा २१ जनालाई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ कार्तिक २०८२, शुक्रबार १७:१५
144
Shares
विराटनगर / जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा मोरङ प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी एवं तोडफोड गरिएको थियो । आगजनी र तोडफोड गरेर थुनुवा भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो ।

त्यस्तै, विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय तथा विभिन्न प्रहरी बिटहरुमा आगजनी र तोडफोड गरियो । सीआरभीको गाडीसमेत जलाइयो । ट्राफिक लाइट र सीसी क्यामेरा पनि तोडफोड गरिएको थियो ।

पक्राउ पर्नेमा उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् । पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।

विराटनगर र जहदाबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर आतंक मच्चाइएको थियो । अराजकता मच्चाउनेलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन थालिएको छ । घटनामा जोसुकै संलग्न भए पनि उन्मुक्ति पाउँदैनन्,’ उनले भने ।

मोरङ प्रहरीको यो कारबाहीबाट आतंक मच्चाउने र हुलहुज्जत गर्ने तथा आगजनी र तोडफोड गर्नेलाई प्रहरीले छाड्दैन भन्ने सन्देश प्रवाह भएको छ । एसपी कटवालले भदौ २४ गतेको घटनामा संलग्नको विवरण अझै पनि संकलन गर्ने काम भइरहेको बताए । ‘सीसी क्यामेरा फुटेज, भिडियो र फोटोलगायतका प्रमाणको आधारमा विध्वंस मच्चाउनेहरुको पहिचान गर्ने काम भइरहेको छ । पहिचान भइसकेकालाई पक्राउ गरेर कानुनको दायरामा ल्याइसकियो,’ उनले भने ।

आगजनी एवं तोडफोड गरेर विध्वंस मच्चाउने अराजक समूहका अन्य व्यक्तिहरुको पहिचान, खोजी र पक्राउका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । विध्वंस मच्चाउने समूह प्रहरीको निगरानीमा रहेको एसपी कटवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर