खबर पूर्वाञ्चल
विराटनगर/ तराई मधेसमा विषेश धुमधामको साथ मनाईने आस्थाको महापर्व छठ सुरु भएको छ ।
आजदेखि सुरु हुने यो पर्व सोमवार साँझ अस्ताउँदो सूर्य र मंगलवार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ ।छठ अन्तर्गत आज पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ । यो दिनलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ ।
पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ । आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसाद स्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ ।
अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ । छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ ।
त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हर्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ अर्पण गरिन्छ।
व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी व्रत सुरु गरेका छन् । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् ।
यो पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ ।
आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रहृमचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास पाइन्छ । छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ ।