खबर पूर्वाञ्चल
संघको आफ्नै भवनमा आज आयोजित उक्त कार्यक्रममा व्यवसायीहरूले चाडपर्वको शुभकामना साटासाट गर्नुका साथै व्यावसायिक चुनौती र सरकारी नीतिबारे पनि चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीपकुमार दासले नेपालीहरूको महान चाडपर्वले आपसी भाइचारा र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले औषधी व्यवसायीहरूलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै गुनासो व्यक्त गरे । शुभकामना मन्तव्यकै क्रममा संघका कोशी प्रदेश अध्यक्ष धनराज काफ्लेले उपस्थित सबैलाई दशैं, तिहार, छठ र नेपाल सम्वत्को शुभकामना दिएका थिए ।
कार्यक्रमका समापन मन्तव्य राख्दै संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले राज्यले अख्तियार गरेका केही नीति तथा निर्णयहरू अव्यावहारिक र औषधी व्यवसायीको हितविपरीत भएको बताए । उनले राज्यले निर्माण गर्ने ऐन, नियम र कानुनहरू व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिँदै सबैमा चाडपर्वको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेपाल चिकित्सक संघ कोशी प्रदेशका अध्यक्ष डा. राजेन्द्र चौधरी, नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष दिपेन्द्रकुमार साह, एनसीडिएका पूर्व अध्यक्ष सुवास चन्द्र अग्रवाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, र मोरङकी अध्यक्ष सुशिला पाठकलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संघका महासचिव अरुणकुमार ब्रम्हाणले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले राखेका थिए । कार्यक्रमले व्यवसायीहरूबीच सौहार्दता बढाउनुका साथै आफ्ना साझा मुद्दाहरूमा आवाज उठाउने अवसर प्रदान गरेको थियो ।