खबर पूर्वाञ्चल
अवस्थालाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन कर्फ्यु लगाइएको भन्दै सेनाले सर्वसाधारणलाई सबै पसल र व्यवसाय बन्द गरी घर–घरमा जान आह्वान गरिरहेको छ । मंगलबार विराटनगरमा प्रदर्शनकारीहरूले प्रदेशसभा, मुख्यमन्त्रीको कार्यालयसहित अधिकांश मन्त्रालय र सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । यस क्रममा ती कार्यालयहरूमा लुटपाटसमेत भएको थियो । दिउँसोबाट सडक र सरकारी कार्यालयको सुरक्षामा रहेका प्रहरीहरूले स्थान खाली गरेपछि जथाभावी तोडफोड र आगजनी बढेको थियो ।
तोडफोड र आगजनीका कारण विराटनगर महानगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, उच्च अदालत, जिल्ला अदालत, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरूका घरमा समेत ठूलो क्षति पुगेको छ । सयौँ सरकारी तथा निजी सवारी साधनहरूमा आगजनी गरिएको छ । आगजनी भएका अधिकांश सरकारी कार्यालयहरूमा कुनै पनि फर्निचर, उपकरण र कागजपत्र बाँकी छैनन् ।
अहिले पनि धेरै कार्यालयहरूमा आगो निभेको छैन भने दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा दिउँसो तोडफोड भएपछि साँझपख लुटपाट र आगजनी भएको थियो, जसको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।