पूर्वाञ्चल खबर
विराटनगर /आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ का नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले आफ्नो ३० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
बुबाको निधनका कारण हाल धार्मिक परम्पराअनुसार ‘कोरा’ (शोक) मा रहेका ढकालले आज कोराबाटै मतदातासामु आफ्ना योजनाहरू सार्वजनिक गरेका हुन् ।निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा रहेका बेला गत बिहीबार ढकालका १०१ वर्षीय बुबा विष्णुप्रसाद ढकालको निधन भएको थियो । पितृशोकका कारण मतदाताको घरदैलोमा पुग्न असमर्थ भएपछि उनले विराटनगर–४, सम्झना चोकस्थित मूल घरमा किरियापुत्रीकै अवस्थामा बसेर आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।
पूर्वाधार र विकासलाई प्राथमिकता
ढकालको प्रतिबद्धता पत्रमा क्षेत्रगत पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । जसमा विराटनगरको डुबान समस्या समाधानका लागि दीर्घकालीन योजना निर्माण, सुस्त गतिमा रहेको चक्रपथ (रिङरोड) निर्माणको गतिरोध अन्त्य, र क्षेत्रभित्र पर्ने गछिया, बुढीखोला, केशलिया एवं सिंघीया नदी नियन्त्रणका लागि विशेष योजना समेटिएका छन् ।
यस्तै, बन्द तथा रुग्ण उद्योगहरू पुनः सञ्चालनका लागि नीतिगत पहल गर्ने, मजदुर पक्षीय कार्यक्रम ल्याउने र साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने विषयलाई उनले जोड दिए ।
शिक्षा, प्रविधि र संस्कृति
शिक्षा क्षेत्रतर्फ विद्यालयहरूमा ‘स्मार्ट क्लास रुम’ निर्माण, ‘जेन–जी’ (नयाँ पुस्ता) लाई प्रविधिमार्फत उत्पादनसँग जोड्ने र स्वरोजगारमूलक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, गुरुकुल र मदरसा शिक्षालाई विश्वविद्यालयसँग जोड्न नीतिगत पहल गर्ने तथा थारु ग्राम र संस्कृतिको जगेर्ना गर्ने योजना ढकालले अघि सारेका छन् ।
पर्यटन र कृषि
सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगाको सिंघीया खोला र बौराहाको मधुपार्कको संवर्धन गर्दै हसिना सिमसारलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ । यस्तै, कोशी नहरलाई ‘हरियाली सडक सञ्जाल’का रूपमा विकास गर्ने र कृषिका लागि मल, बीउ एवं सिँचाइलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
मतदातालाई भावुक अपिल
निर्वाचनको मुखमा पितृ वियोग परे पनि आफू मानसिक रूपमा सधैँ मतदाताकै साथमा रहेको ढकालले बताए । उनले भने, “म आफैँ भौतिक रूपमा घरदैलोमा आउन नसके पनि मेरा साथीहरूमार्फत प्राप्त हुने सुझावहरूलाई शिरोधार्य गर्नेछु । निर्वाचनको परिणाम जे–जस्तो आए पनि नागरिकका समस्या समाधानमा मेरो सक्रियता सधैँ रहिरहनेछ ।”
एमालेले यस क्षेत्रमा निर्वाचन कमाण्डरका रूपमा पूर्वमन्त्री एवं नेता लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । पण्डित सोही क्षेत्रबाट २०७४ सालको निर्वाचनमा विजयी भएका थिए ।
मोरङ क्षेत्र नम्बर ६ मा यस पटक कडा प्रतिस्पर्धा देखिएको छ । ढकालसँगै नेपाली कांग्रेसका डा. शेखर कोइराला, नेकपाका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्य चुनावी मैदानमा रहेका छन् ।