विराटनगर / लोक सेवा आयोगमार्फत विद्यार्थीहरुलाई राष्ट्र सेवामा अभिप्रेरित गर्नका लागि कोशी प्रदेशका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका बीच आज विराटनगरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
आयोगले आफ्नो हिरक जयन्तीको उपलक्ष्यमा विराटनगरमा आयोजित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रममा सहभागीहरुले आयोगले सार्वजनिक सेवाका लागि उम्मेदवार सिफारिश योग्यता, निक्ष्पक्षता र स्वच्छताका आधारमा गर्ने गरेको हुनाले यसप्रति नागरिकको ठूलो विश्वास रहेको धारणा राखे । आयोगले योग्य, दक्ष युवाहरुलाई विदेश पलायनमा नियन्त्रण गरि राष्ट्र सेवा गर्न विश्वासिलो बातावरण तयार गरेकोमा खुशी व्यक्त्त गरे ।
कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले आयोगको निश्पक्षता एवं विश्वासले युवाहरुलाई सार्वजनिक सेवामा आउन प्रेरित गरेको बताइन् । उनले आयोगले छनौट गरेका उम्मेदवारहरु सुशासन,पारदर्शी र प्रशसनीयक दक्षता हुने विचार राखिन् ।
पूर्वाञ्चल विश्व विद्यालयकी रजिष्टार प्राडा कल्याणी मिश्र त्रिपाठीले आयोगले हालै निकालेका न्याय सेवा आयोगको उम्मेदवार सिफारिशमा विश्वविद्यालयका अध्याधिक विद्यार्थीहरु सफल भएकोमा खुशी व्यक्त्त गरिन् ।
आयोगका सदस्य माधव बेल्वासे,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,आयोगको धनकुटा कार्यालयका प्रमुख रामदत्त पाण्डेय, विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले आयोगले सार्वजनिक सेवामा प्रवेश गर्ने उम्मेदवार सिफारिशमा ७५ प्रतिशत कृषक परिवारका सदस्यहरु रहेको जानकारी दिए ।
सो अवसरमा आयोगका सहसचिव यज्ञप्रसाद ढुङ्गेल र आयोगका धनकुटा कार्यालयका प्रमुख पाण्डेयले ‘विद्यार्थीमाझ लोकसेवा आयोग ’ विषयक कार्यपत्र प्रस्तुत गरे । आयोगले यस प्रकारको कार्यक्रममा सात प्रदेशमा आयोजना गरिरहेको छ। कार्यक्रममा प्रदेशका १३ जिल्लाका विद्यार्थीहरुको सहभागिता रहेको छ ।