पूर्वाञ्चल खबर
विराटनगरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपालमा खैरो हेरोइन सप्लाई गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले विशेष सुराकको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१५ स्थित मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा हिँडडुल गर्दै गफगाफ गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि शरीर खानतलासी गर्ने क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी चुँडालले बताइन् । बरामद गरिएको लागुऔषधको बजार मूल्य लाखौं रहेको अनुमान गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु नेपालमा लागुऔषध सप्लाई गर्ने गिरोहको सदस्य भएको खुलेको छ । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी प्रहरीले गरेको छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो घटनाले नेपाल भारत खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध कारोबारीहरु सक्रिय रहेको कुरालाई पुनः उजागर गरेको छ । मोरङ प्रहरीले हालैका दिनमा लागुऔषध विरुद्धको अभियानलाई तीव्र पार्दै लगेको छ ।