AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा घरैभित्र डरलाग्दो अपराधको श्रृंखला बढ्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ श्रावण २०८२, बिहीबार ०७:१९
324
Shares
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ स्थित घटनास्थलमा प्रहरी र स्थानीय । फाइल तस्वीर
विराटनगर/ कोशी प्रदेशमा पछिल्लो समय पारिवारिक अपराधको भयावह रूप देखिन थालेको छ ।

जीवनभर साथ दिने भनिएका आफन्तकै हातबाट ज्यान जाने घटनाहरू श्रृंखलाबद्ध रूपमा सार्वजनिक भइरहेका छन् ।

सामान्य घरेलु विवाद, सम्पत्ति सम्बन्धी झगडा, प्रेम सम्बन्धको असफलता वा पारिवारिक असमझदारीले हत्या जस्तो जघन्य अपराधको रूप लिन थालेको प्रहरी र समाजशास्त्रीहरू बताउँछन् ।

पछिल्लो उदाहरणका रूपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जग्गा सम्बन्धी घरायसी विवाद उत्कर्षमा पुगेपछि मोहम्मद रियाज अन्सारीले आफ्ना बाबु सचिव अन्सारीमाथि छुराले आक्रमण गर्दा उनको मृत्यु भएको हो । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, छोरालाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको छ । उनले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका सचिव अन्सारीलाई विराटनगरको गोल्डेन अस्पतालमा लगिएको थियो, तर उपचारकै क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

यो एउटा घटना मात्रै होइन, पछिल्ला तीन साता भित्रै कोशी प्रदेशमा घटेका अन्य घटनाले पनि पारिवारिक सम्बन्धभित्रै लुकेको अपराधको उजागर गरिरहेका छन् । २१ असारमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीमा रातारात एकै परिवारका चार सदस्यको हत्या भएको थियो । आफ्नै ज्वाइँ राजेन्द्र राईको आक्रोशले ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासू मञ्जु गिरि, ९ वर्षीय सालो सपन गिरि र १७ वर्षीया पत्नी मनिषा गिरिको ज्यान गएको हो ।

राजेन्द्र र मनिषाबीच करिब ९ महिनाअघि प्रेम विवाह भएको थियो । अन्तरजातीय सम्बन्धलाई सहज रूपमा स्वीकार नगरेको पारिवारिक अस्वीकृति अन्ततः हिंसामा परिणत भएको देखिन्छ । प्रहरीका अनुसार, राजेन्द्र श्रीमतीलाई लिएर घर फर्कन चाहन्थे, तर ससुराली पक्ष असहमत थिए। यही विवादले उग्र रूप लिएर ज्यानमै पुग्यो । राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
१५ असारमा मोरङको धनपालथान गाउँपालिकामा ७ वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या गरिएको दर्दनाक घटना सार्वजनिक भयो । आफ्नै कान्छा काका अनिष सरदारले बालिकालाई बलात्कार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बालिकाको शव दुर्गा आधारभूत विद्यालय जाने बाटोमा विभत्स अवस्थामा फेला परेको थियो। अनुहार, घाँटी, शरीरका विभिन्न भागमा गहिरा चोट देखिएको थियो । शंका बढेपछि अनिषलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनामा संलग्नता पुष्टि भएको हो। कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

घरैभित्र डरलाग्दो अपराधको श्रृंखला
उपरोक्त घटनाहरू प्रतिनिधिमूलक हुन्, तर यीले समग्र कोशी प्रदेशमा पारिवारिक अपराधको भयानक चित्र उजागर गर्छन् । सामान्य भनाभनबाट सुरु भएको असमझदारी जब नियन्त्रण बाहिर जान्छ, तब भौतिक आक्रमण हुँदै हत्या जस्ता घटनामा परिणत हुने क्रम बढ्दो छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, पछिल्लो एक वर्षमा पारिवारिक हत्याका मात्रै ५० भन्दा बढी घटना सार्वजनिक भएका छन् ।
प्रदेशका १४ जिल्लामा एक आर्थिक वर्षमा ८ हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेका छन् । तीमध्ये लगभग १ सय ५० बढी कर्तव्य ज्यानका मुद्दा छन्, जसमा उल्लेख्य संख्यामा आफन्तबाट गरिएका हत्या पर्दछन् ।

मोरङ जिल्ला मात्रै हेर्ने हो भने, आर्थिक वर्ष २०८१÷८२ मा २ हजार ६ सय ६ वटा मुद्दा दर्ता भएका छन् । तिनीहरूमध्ये १ हजार ९२० मुद्दा फछ्र्यौट भएका छन् भने ६८६ मुद्दा बाँकी छन् । मोरङमा कर्तव्य ज्यानका १३ वटा मुद्दा दर्ता भएका छन्, जसमा पनि धेरैजसो घटना आफन्तभित्रै घटेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीका अनुसार, पछिल्ला समय देखिएका जघन्य अपराध नजिकका आफन्तबाटै हुने गरेको पाइएको छ । पारिवारिक किचलो, प्रेम सम्बन्धमा धोका, सम्पत्ति सम्बन्धी असमझदारी जस्ता कुराले हत्यासम्मको अवस्था सिर्जना गरिरहेको उनको भनाइ छ । ‘विभिन्न क्षेत्रमा निराश भएपछि व्यक्तिहरूले आफूभन्दा नजिकको व्यक्तिलाई बाधक ठान्न थाल्छन्,’ डिआइजी कार्कीले भने, ‘त्यसपछि आवेगमा आएर हत्या जस्ता जघन्य अपराध हुने गरेका छन् ।’ उनका अनुसार, पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्नु, विश्वास गुम्नु, आपसी बेमेल, एक–अर्काको भावना बुझ्न नसक्नु, र गलत सन्देह गर्नु यस्ता अपराध बढ्नाका प्रमुख कारण हुन् ।
प्रहरीले यस्ता घटनाहरूको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरेको छ । तर यस्ता घटना दिन–प्रतिदिन बढिरहेका सन्दर्भमा मात्रै चेतनाले पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

सामाजशास्त्री तथा प्राध्यापक डा. डिल्ली प्रसाइले पछिल्लो समय पारिवारिक सम्बन्धभित्र कलह र अविश्वासले गहिरो रूप लिन थालेको बताउँछन ्। उनको विश्लेषणमा सामाजिक र आर्थिक कारणहरू, प्रविधिको बढ्दो प्रयोग र व्यक्तिवादी सोच अपराधको जड बनेको छ ।

‘आजको समाजमा हरेक कुरा “मेरो” भन्ने सोच हाबी छ । सामूहिकता र हार्दिकता टुट्दै गएको छ,’ उनले भने, ‘पैसा र सम्पत्तिका लागि जे पनि गर्ने मनोवृत्ति, संस्कारको विघटन र अनुशासनहीनता भयावह बन्दै गएको छ ।’ उनले भने, ‘परिवारले सही दिशा पाउन छाडेको छ । बालबच्चा, युवा, वृद्ध कसैमा पनि आत्म–संयमको अभाव देखिन्छ। यस्ता प्रवृत्तिको अन्त्य गर्न समाजको सामूहिक संलग्नता आवश्यक छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर