AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने बीमा बोर्डको निर्णय खारेज गर्न सांसद मोदीको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० असार २०८२, सोमबार १८:४१
774
Shares
विराटनगर / संघीय सांसद अमनलाल मोदीले स्वास्थ्य बिमा बोर्डले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद मोदीले कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पहिलो सेवा विन्दुबाट हटाउने निर्णयले सरकारी अस्पतालहरूलाई धराशायी बनाउने र निजी अस्पताललाई फाइदा पुर्याउने आरोप लगाएका हुन् ।

सांसद मोदीका अनुसार बोर्डले कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता ठूला सरकारी अस्पतालहरूलाई विशेषज्ञ अस्पतालको सूचीमा राखेर पहिलो सेवा विन्दुबाट हटाएको छ । यस निर्णयका कारण अब बिमाका बिरामीले ती अस्पतालहरूमा जानुअघि पालिका स्तरका अस्पतालबाट रेफर लिनुपर्नेछ । ‘धेरै पालिकाहरूसँग त्यो स्तरको अस्पताल छैन,’ उनले भने, ‘यो निर्णयले कोशी अस्पतालले मात्र दैनिक एक हजार बिरामी गुमाउनुपर्ने अवस्था आउनेछ ।’

उनले जनताले पालिकाको अस्पतालबाट रिफर लिएर निजी अस्पतालमा जाने सम्भावना बढी रहेको भन्दै यसले सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्याउने स्पष्ट पारे । सांसद मोदीले यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलीयाहरूको प्रभावमा आएको आरोप समेत लगाए । सांसद मोदीले सरकारी अस्पतालहरू पूर्ण रूपमा धराशायी हुनुअघि नै उक्त निर्णय खारेज गरी पूर्ववत् रूपमा ती अस्पतालहरूलाई प्रथम सेवा विन्दुको सुविधा दिनुपर्ने माग गरे । उनले स्वास्थ्य बिमा बोर्डको यो निर्णय सच्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर