खबर पूर्वाञ्चल

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारि ५० ओभरमा सवै विकेट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो । पुलिसकालागि अरुण ऐरी कप्तान शंकर रानाले अर्धसतक पारी खेले । ऐरीले ६४ रन र रानाले ५१ रन पारी खेले । श्रवण यादवले ३२ रन तथा दिपक डुम्रेले ३६ रनको पारी खेले । आर्मीका नरेन साउदले २ विकेट लिँदा दुर्गेश गुप्ता र तुलबहादुर थापाले पनि २/२ विकेट लिए ।
पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सवै विकेट गुमाई २ सय १५ रन मात्र बनाउँन सक्यो । आर्मीका विकेट किपर हिमाञ्सु दत्तले अर्धसतकी पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् । दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन राउदले २१ रन, जितेन्दू सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योदान दिए । पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफि हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरुले जनही नगद १५/१५ हजार र ट्रफि हात पारे ।
बैशाख १३ गतेदेखि भएको प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी रहेका थिए ।
प्रतियोतिामा करिव एक करोड खर्च भएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले बताए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटा,जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट सँघका अध्यक्ष महमद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।