पूर्वाञ्चल खबर
विराटनगर / मोरङ उद्योग ब्यापार संघ विराटनगरले आगामी पुस दोश्रो सातादेखि अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ ।
विराटनगर–१ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक पुस ९ गतेदेखि १९ सम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
एक्स्पोका लागि स्टल बुकिङ शुरु भईसकेको संयोजक अमितकुमार सारडाले जानकारी दिए । उनका अनसार २३० वटा स्टलहरु रहने र अहिलेसम्म २६ वटा स्टल विदेशीहरुले बुक गरिसकेका छन् । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताए ।
एक्स्पो सञ्चालनका लागि अढाई करोड खर्च हुने र करिव ३५ करोडको कारोवार हुने बताईएको छ ।
पत्रकार सम्मेलनमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या भएको बताए । उनले प्रदर्शनी स्थलका लागि विराटनगर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकारलाई पटक–पटक भनेपनि सुनुवाई हुन नसकेको गुनासो गरे । प्रर्दशनी स्थल नुहँदा हरेक पटक एक्स्पो फरक–फरक स्थानमा आयोजना गर्नु परेको उनले बताए । अध्यक्ष राठीले भने,‘ जहिलेसम्म एक्स्पोका लागि भाडा जग्गा पाईन्छ तवसम्म मेला आयोजना गर्न सकिने अवस्था छ ।’