नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा : डा. कोइराला

खबर पूर्वाञ्चल, १३ भाद्र २०८०, बुधबार १६:५६
81
Shares
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्यता छाएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औं पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै डा.कोइरालाले नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाएको बताएका हुन् । नेता कोइरालाले सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे ।

नेपालका सबै पार्टीका नेताहरुले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको उनको तर्क थियो । राजनैतिक पेशा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए । “राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेशा व्यवसायी गर्दा भइगयो नि,” उनले भने, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र व्यतिथि बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरणहरु आएका छन् ।”

नेता कोइरालाले स्वर्गीय न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको बताए । आफूले पटकपटक भेट्दा पनि न्यौपानले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गरे ।

मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राजभण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठलगायतले स्वर्गीय न्यौपानेको राजनैतिक र सामाजिक व्यक्तित्वका विषयमा चर्चा गरे ।

नेविसंघ मोरङको संस्थापक सचिव न्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य भएका थिए । न्यौपाने वरिष्ठ अधिवक्तासमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५