खबर पूर्वाञ्चल
अध्यक्ष पदका लागि रोहित कोइराला र बलराम गिरी (नवीन) ले आफ्ना-आफ्नै प्यानलसहित उम्मेदवारी दर्ता गराएपछि निर्वाचन प्रतिस्पर्धात्मक बनेको हो।
बुधबार साँझसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले कार्यक्रम संशोधन गर्दै आज विहानदेखि मतदान गराउने निर्णय गरेको हो। मंगलबार सुरु भएको दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी चयन गर्ने लक्ष्य लिएको छ।
निर्वाचनमा एमालेभित्रको संस्थापन पक्ष र विनोद ढकाल समूहबीचको प्रतिस्पर्धा स्पष्ट देखिएको छ। ढकाल पक्षको समर्थन पाएको गिरी नेतृत्वको प्यानलमा उपाध्यक्षमा सुवासकुमार न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाईं, उपसचिवमा अन्ताज हुसेन र हिमा मैनाली पोखरेल रहेका छन्।
कोइराला नेतृत्वको प्यानलमा उपाध्यक्षका उम्मेदवार राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगी छन्।
दुवै पक्षबीच हिजो रातिसम्म मनोनयन दर्ता, दाबी–विरोध लगायतका प्रक्रिया सकिएपछि मतदानमा सहमति जुटेको हो। यद्यपि नेतृत्वबीचको स्पष्ट ध्रुवीकरणले कार्यकर्ता र प्रतिनिधि तहसम्म विभाजन ल्याएको छ। यस्तो अवस्थामा केही दोस्रो तहका नेताहरू साझा नेतृत्व चयनको पहलमा लागिपरेका छन् र उनीहरूलाई मात्र मतदान गर्न प्रतिनिधिमाथि गोप्य रूपमा लबिङ भइरहेको छ।
निर्वाचनको परिणामले विराटनगरको एमाले संगठनमा भावी शक्ति सन्तुलनलाई निर्धारण गर्ने देखिएको छ।