खबर पूर्वाञ्चल
गतवर्ष चैत्र १५ गतेबाट २४ गतेसम्म सम्पन्न गोल्डकपले करिब २२ लाख रुपैया नोक्सानी ब्यहोरेको छ । ट्रष्टका एक पदाधिकारीका अनुसार प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ नदिँदा गोल्डकप नोक्सानीमा गएको हो । यस विषयमा ट्रष्टले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । ती पदाधिकारीका अनुसार दुवै खेलकुद निकायले उल्लेखित रकम उपलब्ध गराउँदा गोल्डकपले २२ लाख रुपैयाँ बराबर नाफा आर्जन गर्ने थियो । जुन हालसम्म भएका गोल्डकपमा सबैभन्दा बढी मुनाफा रकम हुने थियो ।
प्रदेश सरकारले विराट गोल्डकपसँगै झापा गोल्डकप, बुढासुब्बा गोल्डकप र इटहरी गोल्डकपलाई समेत रकम दिन नसक्दा गोल्डकप आयोजकहरु समस्यामा परेका छन् । विराट गोल्डकप आयोजक ट्रष्टका पदाधिकारीले अझैपनि बजारमा १० लाख रुपैयाँ बढी तिर्न बाँकी रहेको बताउँछन्। गत वर्ष गोल्डकप सुरु हुनुपूर्व ट्रष्टले आफ्नो अधिवेशन गरिरहँदा करिब २ लाख रुपैयाँ बढी ट्रयाक सुटमा खर्च गर्दा ट्रष्टको बैंक खातामा ११ लाख रुपैयाँ रहेको थियो ।
चैत्र १५ देखि २४ गतेसम्म विराटनगर सहिद मैदानमा सम्पन्न गोल्डकपका क्रममा ट्रष्टको सो रकमसमेत चलेको ती पदाधिकारीको भनाई छ । गाल्डकपका लागि आयोजक ट्रष्टले १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाएको थियो । जसमा उपाधि विजेता मच्छिन्द्र फुटबल क्लबले ११ लाख, उपविजेता सांग्रिला मोरङ एफएले ५ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाएका थिए । फाइनलमा सांग्रिला मोरङ एफए मच्छिन्द्रसँग २–० गोल अन्तरले पराजित भएको थियो ।