पूर्वाञ्चल खबर
मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त विरामीहरु, कोभिड–१९ जस्तै लक्षण भई संकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाह वमोजिम लक्षण देखिएका व्यक्तिहरु, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई प्राथामिकतामा राखिएको प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईले बताए । उनले संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्यहरु न्यूनतम ५ दिन होम आइसोलेसन बसे पछि, संक्रमितसँग १५ मिनेटभन्दा बढी एक मीटर दुरी कायम नगरी प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति न्यूनतम ५ दिन होम आइसोलेसन बसे पछि पीसीआर परीक्षणको प्राथमिकतामा राखिएको उनले बताए ।
विदेशबाट आएर न्यूनतम पाँच दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरु र कोभिड–१९ संक्रमण व्यवस्थापनका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सूरक्षाकर्मी तथा अन्य कर्मचारीहरु पीसीआर परीक्षणको प्राथमिकतामा पर्ने महाशाखा प्रमुख प्रसाईले बताए ।
प्रदेश १ मा रहेका ४ वटा प्रयोगशालाहरु कोशी अस्पताल, प्रदेश प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अञ्चल अस्पतालबाट पीसीआर परीक्षण हुँदै आएको छ । आज सम्म ६७ हजार १ सय ७८ पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ ।