AArya
animated ellipse animated ellipse

पुरानो डाक्टरलाई छोडेर दबावमा नयाँ चिकित्सक कोशीमा नियुक्ति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०८१, मंगलवार ०७:५८
270
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा विकास समितिले चार वर्ष काम गरेको चिकित्सकलाई छोडेर नेपाली काँग्रेस केन्द्रीय तहको नेताको दबावले आफु निकटका एक जना विशेषज्ञ चिकित्सक नियुक्त गरेको पाइएको छ ।

विना प्रतिस्पर्धा नौ जना चिकित्सक नियुक्ति गर्दा पुरानोलाई प्राथामिकता दिएको दाबी गर्दै आएका अस्पताल प्रशासन र विकास समितिले चार वर्षदेखि कोशीमा सेवा दिदै आएका मानसिक रोग विशेषज्ञ डा. प्रभात चालिसेलाई पाखा लगाएर एक जना नयाँ विशेषज्ञ चिकित्सक नियुक्ति गरेको पाइएको हो ।

भदौ २ गते अस्पताल विकास समितिले करारमा मनोचिकित्सक डा.सविता खड्कालाई नियुक्ति गरेको छ । उनलाई अहिले स्वास्थ्य मन्त्री प्रदिप पौडेल रहेको पार्टीका नेताको दबावले नियुक्त गरेको अस्पताल भित्र चर्चा हुने गरेको छ ।

यसअघि अस्पतालका मेसु रविराज सिंह र अध्यक्ष फरवर्ड सिलवालले नयाँ नियुक्त नगरेको दाबी गरेपनि डा.विशका र डा.सबिता नयाँ हुन् । नेपाल सरकारको रिक्त दरबन्दीमा विगत चार वर्षदेखि कोशीमा डा. चालिसेले काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा स्वास्थ्य मन्त्रालयले अर्को स्थायी चिकित्सक पठाएपछि उनको करार अवधि सकिएको थियो । चार वर्षदेखि अस्पतालमा सेवा प्रभाह गरेको कारणले अन्य पुरानो चिकित्कसलाई राख्दा उनलाई पनि अस्पताल विकास समितिले नियुक्ति गर्ने सोचेका थिए । तर, उनको ठाउँमा अस्पताल विकास समितिबाट निर्णाय गरेर सवितालाई नियुक्त गरेको पाइएको छ । ‘कोशी अस्पतालमा चार वर्षदेखि सेवा गर्दै आएको थिए । अरु पुरानोलाई नियुक्ति गर्दा मलाइ पनि विकास समितिले करारमा राख्छ होला भन्ने थियो । तर, अस्पतला विकास समितिले नराखेपछि अहिले आफ्नै किल्निकमा विरामी हेर्दैछु,’ उनले भने ।

भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अफिसर नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल, कन्सल्टेण्ड डर्माटोलोजिष्ट डा.ज्योती कार्की, पेटरोग विशेषज्ञ डा.रोहित यादव, एनएसथेसियाहरु डा.प्रविन झा र डा.राजन राई छन् । यसैगरी मेडिकल अपिसरहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा.मनोज मनिष साह र आइसियूको लागि डा.विशका गुरुङलाई नियुक्ति गरेको छ ।

उनीहरुलाई सुरूमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ । अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करारमा ९ तहमा कार्यरत चिकित्सकलाई तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ ।

डा.रौनक, डा.ज्योति र डा.रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९ औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको छ । अस्पताल विकास समितिबाट एक पटक नियुक्त भएका चिकित्सकलाई हटाउन नसकिने भएकोले कारणले उनीहरुले पहुँचको भरमा विनाप्रतिस्पर्धा नियुक्ति पाएका हुन् । विनाप्रतिस्पर्धा चिकित्सक नियुक्ति गर्दा अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेको आरोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर