पूर्वाञ्चल खबर
प्रदेश १ स्वास्थ्य मन्त्रालय , स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित दुर चिकित्सा सेवाको नीति वैठकमा सहभागीहरुले चिकित्सकहरुलाई थप प्रोत्साहन भत्ता,दुर चिकित्सा केन्द्र लगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्तिको नियुक्ति गरेमा सेवा प्रभावकारी हुने धारणा राखेका छन् ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलव्ध गराउन दुर चिकित्सा प्रभावकारी हुने बताए ।
उनले आगामी असार मसान्त अगाडि सेवा सञ्चालन गरी जिल्ला अस्पतालहरुलाई जोड्न आग्रह गर्दै सरकारी अस्पतालहरुवीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्यमन्त्री जयराम यादवले सिंहदरवारको अधिकार घरघरमा भन्ने अनुभूति दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेमा अनुभूति हुने विचार व्यक्त्त गरे । उनले स्वास्थ्य सेवालाई सवल बनाएमा सङ्घीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल,स्वास्थ्य मन्त्रालयका सचिव अनुज भट्टचन ,स्वास्थ्य सेवा विभाग टेकु काठमाण्डौका पूर्व महानिर्देशक डा. मिङमार ग्याल्जेन शेपा , निर्देशनालयका प्रमुख ज्ञानन्द्रवहादुर वस्नेतलगायतले दुर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताए ।
बैठकमा सङ्घीय सरकारबाट दुर चिकित्सा सेवा सञ्चालनका लागि हाललाई ५० लाख बजेट आएको जानकारी गराइयो ।