खबर पूर्वाञ्चल
विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी आजदेखि संचालनमा ल्याएको हो ।
उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले गरे । कार्यक्रममा बोल्दै उनले सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक लाइटले ठूलो सहयोग पुग्ने बताए । उनले ट्राफिक नियमको पालना गरी सवारी दुर्घटना न्यूनिकरण गरिनुपर्नेमा जोड दिए ।
मन्त्री अधिकारीले विराटनगरसहित प्रदेशको विभिन्न सहरहरुमा ट्राफिक लाइट जडान गरेर सवारी दुर्घटनलाई न्यूनिकरण गर्ने बताए । चाँडै उदयपुरको गाइघाटमा पनि ट्राफिक लाइट संचालनमा आउने जानकारी गराउँदै मन्त्री अधिकारीले सडक अनुसानको पालना गरिनुपर्नेमा जोड दिए ।
ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने मन्त्री अधिकारीले बताए । जनघनत्व र सवारीसाधनको चाप बढी भएका स्थानको छनोट गरेर आगामी दिनमा लाइट जडान गर्दै लैजाने योजना रहेको उनले सुनाए ।
विराटनगरको बरगाछी चोकमा कोशी लोकमार्ग र सहायक सडक पार गर्न चारवटै कोणमा लाइट जडान गरिएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए । उनका अनुसार ट्राफिक लाइट उद्घाटनलगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो । मन्त्रालयको २३ लाख रुपैयाँको लागतमा लाइट जडान गरेको उनले बताए ।
लाइट उद्घाटन कार्यक्रममा निमित्त सचिव थापासहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपानेलगायतको उपस्थिति थियो ।
बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ । ट्राफिक व्यवस्थापन मिलाउन नसक्दा सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो । लाइटको प्राविधिक पक्षलगायतको परीक्षण यसअघि गरिएको थियो । परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको हो ।
लाइट एक महिनाअघि जडान गरिएको भए पनि सञ्चालनका लागि जेब्राक्रस निर्माण र प्राविधिक पक्षको उचित व्यवस्थापन गर्न समय लागेको हो । कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया