animated ellipse animated ellipse

विराटनगरमा धारिलो हतियारको प्रयोग गरेर एक जना युवकको हत्या , २ जना गम्भीर घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ असार २०८१, मंगलवार ११:२१
486
Shares
विराटनगर / विराटनगरमा धारिलो हतियारको प्रयोग गरेर एक जना युवकको हत्या भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

सोमबार राति विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकम नजिक धारिलो हतियार प्रहार हुँदा अन्य दुई जना घाइते भएका छन् ।

हतियार प्रहारबाट मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो ।

कामतको उपचारका क्रममा मृत्यु भएको हो । मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट रहेको एसपी कार्कीले बताए । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको एसपी कार्कीले बताए । घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ ।

कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।

घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका घाइते एवं मृतकबीच नै झैझगडा भएर घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ । यद्यपि, अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने एसपी कार्कीले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर