खबर पूर्वाञ्चल
डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बा¥हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् । अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर वस्नेतलगायतले विदाई गरे ।
डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएको बताए । झापा बा¥हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएका हुन् । डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् । राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताए । उनले तत्काल परिवारको सम्पर्कमा नजाने समेत बताए । उनले भने,‘ मेरा कारणले अरुलाई समस्या नहोस् ।’
बा¥हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिए । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा.मिश्राले बताइन् ।