RUMPUM
animated ellipse animated ellipse

‘सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र साउन १ गतेदेखि खारेज’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०८०, बिहीबार २०:२१
450
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्री वितरणका लागि दिइएको अनुमतिपत्र साउन १ गतेदेखि खारेज गर्ने बताएका छन् ।

विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह समेत गरे ।

मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट पारे । “सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सरजस्ता जटिल रोगका बिरामीहरु बढ्दै गएका छन् । सुर्तीजन्य पदार्थबाट प्राप्त हुने करभन्दा सयौं गुणा बढी उपचारका लागि सरकारको बजेट खर्च भइरहेको छ,” मेयर कोइरालाले भने, “त्यसमाथि खोलका कारण र गुट्खा खाएर थुक्दा सहरको सौन्दर्यतामा समेत ह्रास आएको छ ।” महानगरले सुरु गरेको अभियानमा साथ दिन उनले महानगरवासीसित आग्रहसमेत गरे । महानगरको एक्लो प्रयासले मात्रै विराटनगर बनाउन नसकिने बताउँदै मेयर कोइरालाले हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिरे ।

मेयर कोइरालाले भने, “एक वर्षअघि नै हामीले टोल फ्रि नम्बर सञ्चालनमा ल्याइसकेका छौं, कतै फोहोर गरेको पाउनु भयो, सुर्तीजन्य पदार्थ बिक्री गरेको पाउनु भयो या अन्य समस्या परेमा टोल फ्रि नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।” उनले पछिल्लो समय विराटनगरको पहिचान गुम्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । विराटनगरको नयाँ पहिचान खोजी गर्नुपर्नेमा उनले जोड दिए । मेयर कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । विभिन्न तालिमका माध्यमबाट विराटनगरका युवाहरुलाई स्वरोजगार बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । मेयर कोइरालाले रेडियोको महत्व कहिल्यै नघट्ने उल्लेख समेत गरे ।

वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले चालु आर्थिक वर्ष स्वरोजगारमूलक विभिन्न ६ वटा तालिम सञ्चालन गरेको बताए । उनले जुत्ताचप्पल, अचार, उद्घोषण, लोकसेवा तयारी कक्षालगायतका तालिम सञ्चालन गरेको जानकारी दिए ।

विएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले रेडियोको उपादेयता कहिल्यै नघट्ने दाबी गरे । उहाँले सुन्ने माध्यम र तरिकामा परिवर्तन भए पनि रेडियोको महत्व सधैं रहने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष मोहन भण्डारी, वरिष्ठ पत्रकार यज्ञ शर्मा, प्रेस इन्स्टिच्यूटका प्रदेश संयोजक वीरेन्द्र शर्मालगायतले तालिमको उद्देश्यलगायतका विषयमा केन्द्रित रहेर मन्तव्य राखे ।

कार्यक्रममा शब्द सरोवर प्रालि विराटनगर–११ ले आयोजना गरेको १५ दिने लोकसेवा तयारी कक्षाको समेत समापन गरिएको थियो । कार्यक्रममा सहभागिताका तर्फबाट कविता पोखरेल, उपेन्द्र काफ्ले, इसु पन्त, भलि सुब्बा, प्रेमकला डाँगीलगायतले तालिमका विषयमा आफ्ना अनुभव सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर