खबर पूर्वाञ्चल
सुन्दरहरैँचा नगरपालिका–४ बाट ४४ वर्षीय अमृतबहादुर भुजेल पक्राउ परेका हुन् । उनी लागूऔषध मुद्दामा फरार थिए । लागूऔषध मुद्दाको अनुसन्धानका लागि प्रहरीले सुनसरी अदालतबाट यसअघि नै पक्राउ अनुमति लिए पनि फरार भएका कारण उनी पक्राउ परेका थिएनन् । अहिले भुजेल लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी गछिया र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पिट)को संयुक्त टोलीले आज बिहान पक्राउ गरेको हो ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ का स्थायी बासिन्दा भुजेलको घर सुनसरीको धरान उपमहानगरपालिका–१५ मा पनि छ । प्रहरीका अनुसार तेह्रथुम र धरान दुवैतिर घर भएपनि उनी सुन्दरहरैँचा–४ स्थित योगकुमारी श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दै आएको पत्ता लागेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले डेरा बसेकै घरबाट भुजेललाई ब्राउन सुगरसहित पक्राउ गरिएको जानकारी दिए ।