animated ellipse animated ellipse

कोशी प्रदेश : संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको आह्वान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ बैशाख २०८१, बिहीबार ०६:१७
108
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।

मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् । प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा. दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हन् ।

नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयले बुधबार साढे ३ बजेदेखि झण्डै ६ घण्टा अलमल गर्यो । प्रदेश प्रमुख खापुङले बेलैमा सरकार गठनको आव्हान गरेको खण्डमा बुधबार नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारीमा एमाले–माओवादी थिए । तर, अब आज मात्र दावी पेश हुने भएको छ ।

नयाँ सरकार गठनको आव्हान अनुसार आज बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आव्हान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ । जसका लागि एमालेले आफ्ना सबै सांसदलाई विहान ११ बजेसम्ममा संसद सचिवालयमा भेला हुन निर्देशन दिएको छ । यस्तै माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरुलाई परिचयपत्रका साथमा १० बजे संसद सचिवालय आउन भनेको छ ।

प्रदेश प्रमुखले सनाखत गरेर आजै नै नयाँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरि शपथ गराउनेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमाले(४०) माओवादी केन्द्र (१३)सँग ५३ जना सांसद छन् । उपसभामुख सृजना दनुवारलाई एमालेले सरकार गठनका लागि संख्या गणना गरेको छैन ।

उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेश गर्दा सांसद स्वयम उपस्थीति हुनुपर्ने भएका कारण एमाले र माओवादी केन्द्रले बाहिर रहेका सांसदलाई विराटनगर बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर