खबर पूर्वाञ्चल
पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायको डीन कार्यालयले आयोजना गरेको जर्नल विमोचिन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति कोइरालाले अध्ययन, अनुसन्धान र प्रकाशनमा विश्वविद्यालय सहयोग गर्न तयार रहेको जानकारी दिए । विश्वविद्यालयको साख र स्तर उकास्न धेरै कामगर्न सकिने भन्दै उपकुलपति कोइरालाले स्नातकोत्तर तह अध्यापन गर्ने सबै क्याम्पसलाई कम्तिमा एउटा जर्नल प्रकाशन गर्न सुझाव दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार निलमणी पोखरेलले विश्वविद्यालयलाई चिनाउन जर्नल प्रकाशन गर्नु आवश्यक रहेको भन्दै जर्नल प्रकाशनका लागि सहयोग गर्न विश्वविद्यालय तयार रहेको जानकारी दिए । अन्य डीन कार्यालयहरूलाई पनि कम्तिमा एक एक वटा जर्नल प्रकाशन गर्न सुझाव दिए । विश्वविद्यालयले अध्यापनलाई जति महत्व दिन्छ त्यतिनै अनुसन्धान र प्रकाशनलाई पनि दिनुपर्ने रजिष्ट्रार पोखरेलको भनाइ छ । अनुसन्धान केन्द्रका प्रमुख प्राडा मिनराज ढकालले जर्नल प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । जर्नलका कार्यकारी सम्पादक डा. अपारकुमार लम्सालले मानिसलाई रचनात्मक र सिर्जनशील बनाउन अनुसन्धान र प्रकाशनले महत्वपूर्ण भूमिका खेल्ने बताए । विश्वविद्यालयका जनशक्तिलाई रचनात्मक बनाउन विश्वविद्यालयले अनुसन्धानका पर्याप्त अवसरहरू दिनुपर्ने भन्दै डा. लम्सालले जर्नल प्रकाशनलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए ।
पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायले यो वर्षदेखि “पीयु जर्नल अफ सोसल साइन्स” प्रकाशन आरम्भ गरेको छ । कला, कानून तथा शिक्षा संकायका डीन प्राडा अनिल पोखरेलले जर्नल प्रकाशनलाई निरन्तरता दिने जानकारी दिए । डीन पोखरेलले जर्नलको आवश्यकता र महत्वका विशषमा प्रकाश पारे ।
जर्नलको प्रधान सम्पादकमा डा. रमेशबाबु काफ्ले, कार्यकारी सम्पादकमा डा. अपारकुमार लम्साल तथा सम्पादकमा डा. कोमलप्रसाद दुलाल, डा. अच्युतराज कट्टेल र डा. अमृतकुमार श्रेष्ठ छन् । नेपाली र अंग्रेजी भाषामा लेखिएका १५ अनुसन्धानात्मक लेख सो जर्नलमा प्रकाशित भएका छन् । जसमा अंग्रेजी भाषामा लेखिएका नौ वटा र नेपाली भाषामा लेखिएका छ वटा लेख रहेका छन् ।