विराटनगर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नु पर्ने बताएकी छिन् ।
सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित स्थानीय तहहरुको असल अभ्यास आदान प्रदान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान आधुनिक समयमा प्रविधिको प्रयोग गरि जनताको विकासको चाहनालाई परिपूर्ति गर्ने योजना ल्याउनु पर्ने सुझाव दिइन् ।
मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन् । उनले भनिन,‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिजर्ना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गरिन् । उनले स्थानीय तहलाई घर मजवुत बनाउन प्रयोग गरिने माटो खम्वा जस्तै बनाएर लैजानु पर्नेमा जोड दिदै यसले गर्ने काम कारवाहीबाट सुशासन , भ्रष्टाचार नियन्त्रण गरि असल अभ्यासको रुपमा प्रयोग गर्न आग्रह गरिन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताए ।
संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्नेहो भन्ने कोराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’
मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताए । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्यगर्दै छौँ, प्रदेशले कतिसम्मकाकार्यक्रम गर्ने, संघले कति र स्थानीयतहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ । उनले भने, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’
प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको बताए ।
कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेशका १४ जिल्लाका स्थानीय तहका प्रमुखहरुहरुको उपस्थिति रहेको छ ।