खबर पूर्वाञ्चल
पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ।
आज कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। सम्भावित मन्त्रीको नाम भने टुंगो नलागिसकेको उनको भनाइ छ।
आज सार्वजनिक बिदा परेकाले सोमबार कार्यालय खुल्नेबित्तिकै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिनेछन्।
‘बुधबार नै विश्वासको मत लिने गरी समझदारी भएको छ,’ भण्डारी भन्छन्, ‘ढिलै भए बिहीबारभित्रमा विश्वासको मतको निर्णय भइसक्छ।’
बाँकी शक्ति साझेदारीका कुरा विश्वासको मत लिएपछि मात्र गर्ने समझदारी भएको भण्डारीको भनाइ छ।
आगामी मार्गचित्र र शक्ति साझेदारीबारे शीर्ष तहमा छलफल गर्न मुख्यमन्त्री कार्की शनिबार नै काठमाडौँ आएका छन्। उनी आज बिहानैको उडानमा विराटनगर फर्किने तालिका छ।
छलफलमा सहभागी नेताहरूका अनुसार, मुख्यमन्त्री कांग्रेसबाट चुनिएकाले अब सभामुख एमालेले पाउन सक्नेछ। उपसभामुख राप्रपालाई दिन सकिने गरी छलफल भएको छ।
यो सरकारमा माओवादीलाई सामेल गराउने कि नगराउने भन्नेचाहिँ केही छलफल नभएको भण्डारीको भनाइ छ।