AArya
RUMPUM
animated ellipse animated ellipse

अंशु हत्याको अनुसन्धान गरेको प्रहरीले अझै भेटाउन सकेन ‘क्लु’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८२, बुधबार १७:४९
81
Shares
विराटनगर / मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको हत्या भएपछि शव भेटर प्रहरीले अनुसन्धान सुरू गरेको आज २० दिन पूरा भएका छ । घरबाट खेल्न जान्छु भनेर हराएको ३८ दिन पुरार भयो । अनुसन्धान सुरू गरेको झण्डै तीन साता पूरा हुन लाग्दा पनि हत्यामा संलग्नसम्म प्रहरी पुग्न सकेको छैन ।

हत्या भएको एक महिना बितेको छ । उनको शव बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो । तर, घटना अझै रहस्यमय छ । यस घटनाले गाउँमा त्रास फैलिएको छ भने प्रहरीलाई घटनाको गुत्थी केलाउन सकस भएको छ । अंशुको शव विगत १२ दिनदेखि कोसी अस्पताल विराटनगरको शवगृहमा राखिएको छ ।

परिवारका अनुसार अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएकी थिइन् । त्यसपछि बेपत्ता भइन् । दुई हप्तासम्म खोजी भयो । तर, फेला परिनन् । बेपत्ता भएको १८ दिनपछि लेटाङ–२ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत शव भेटियो ।

वनका अध्यक्ष दिनेश गिरीका अनुसार, कात्तिक ७ गते घाँसदाउरा लिन गएका स्थानीयले सडेको अवस्थामा बालिकाको शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरे । त्यो शव अंशुकै भएको परिवारले पहिचान गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाल तत्कालै आफैँ घटनास्थल पुगे । घटना मुचुल्का उठाइयो । टाउको र शरीर छुट्टिएको अवस्थामा शव थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रयोग गरी हत्या भएको देखाएको थियो । परिवार र गाउँलेले भने बलात्कारपछि हत्या भएको दाबी गरिरहेका छन् ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थिन् । सामान्य परिवारकी बालिकाको निर्मम हत्याले गाउँलेहरू समेत शोकमा रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए । घटना योजनाबद्ध ढंगले नै गराएको अनुमान आफूहरूले गरेको उनको भनाइ छ । अंशुका बडाबा दामोदर गौतमले आफूहरू न्यायको पर्खाइमा रहेको बताए ।
के गर्दै छ प्रहरी ?

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, घटनाबारे प्राविधिक विश्लेषण भइरहेको छ । तर, अहिलेसम्म क्लू भेटाउन सकिएको छैन । “सबै एंगलबाट अनुसन्धान भइरहेको छ । तर, क्लू भेटाउन सकेका छैनौँ । केही मानिसलाई शंकाको घेरामा राखिएको छ । मानव अधिकारको कुरासँग सम्बन्धित विषय पनि छ । पूर्ण प्रमाण र विश्वस्त नभई पक्राउ गर्ने अवस्था छैन । टेक्निकल अनुसन्धान गरिरहेका छौँ । विज्ञले दिएको रायअनुसार अघि बढ्ने योजना छ । तर, हामीलाई अनुसन्धान नगर्ने छुट छैन,” उनले भनिन् ।

फरेन्सिक जाँच र डीएनए परीक्षणका लागि संकलित नमुना बीपी प्रतिष्ठान धरान पठाइएको र विस्तृत रिपोर्ट नआएसम्म थप बताउन सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न पक्राउ नपरुन्जेल परिवारले शव नबुझ्ने र दाहसंस्कार नगर्ने अडान लिएकाले शव अस्पतालमै रहेको डीएसपी चुँडालले जानकारी दिइन् ।

घटनाको गम्भीरता बुझ्दै जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ । टोलीले घटनास्थल र वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन र शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गरिसकेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्लाको टोली अनुसन्धानमा खटिएका छन् । टोलीले मृतको घर, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीहरूसँग समेत बयान लिएको छ ।

“हाम्री छोरी त फर्किएर आउँदिनन् । तर, जसले यो घटना गराएको हो, उसले सजाय पाउनुपर्छ । हामीलाई न्याय दिनुप¥यो,” अंशुकी आमा बिना गौतमले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर