खबर पूर्वाञ्चल
मेयर कोइराला र विश्वकै सबैभन्दा शक्तिशाली सहरका रुपमा रहेको न्यूयोर्कका मेयर एरिक एडम्सबीच भेटवार्ता भएको हो । भेटमा मेयर कोइरालाले एडम्सलाई नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल हस्तान्तरण गरे । सो अवसरमा मेयर कोइरालाले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तोसमेत दिए ।
मेयर कोइरालाले नेपाल भाषा, कला, संस्कृतिमा विश्वकै धनी मुलुक भएको जानकारी गराए । मेयर कोइरालाले अमेरिकी नागरिक साहसिक खेलमा रमाउने भएकाले नेपाल साहसिक पर्यटनका लागि उपयुक्त स्थान भएको बताए । “नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार फिटभन्दा अग्ला धेरै हिमालहरु छन्,” मेयर कोइरालाले भने, “नेपाल साहसिक पर्यटनका लागि उपयुक्त देश हो । अमेरिकी नागरिकलाई नेपाल भ्रमणका लागि वातावरण मिलाइदिन आग्रह गर्दछु ।”
कोशी प्रदेशमा साहसिक पर्यटनको धेरै नै सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो । प्रदेशको एकमात्रै महानगरपालिका विराटनगरबाट सगरमाथासहितका हिमाल नजिक पर्ने भएकाले विराटनगरबाटै माउण्टेन फ्लाइटको पहल पनि भइरहेको उनले सुनाए । मेयर कोइराला र एडम्सबीच विराटनगर र न्यूयोर्कबीच भगिनीसम्बन्धका विषयमा समेत छलफल भएको थियो ।
एडम्सले कार्यव्यस्तताका कारण रथयात्रामा विराटनगर आउने योजना पूरा नभएको बताए । त्यस्तै उनले छिट्टै नेपाल आउन चाहेको इच्छासमेत व्यक्त गरे । विगतमा पनि नेपाल आएको र आफूलाई मन पर्ने देशमध्ये नेपाल भएको मेयर एडम्सले बताए । विराटनगर आएको समयमा दुई सहरबीचको भगिनीसम्बन्धमा हस्तान्तरण गर्ने एडम्सले प्रतिबद्धता जनाएको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए ।
यसैबीच, मेयर कोइराला र न्यूयोर्क सिटी काउन्सिल माननीय शेखर कृष्णनबीच पनि भेटवार्ता भएको छ । शेखर कृष्णनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारको योगदान उच्च रहेको स्मरण गराए । सोही परिवारबाट मेयर कोइराला राजनीतिमा आएको बताउँदै कृष्णनले भने, “जसरी तपाईंको परिवारले नेपालमा प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुभयो, त्यसैगरी अब तपाईंले आर्थिक विकास र जलवायु परिवर्तनका मुद्दामा योगदान गर्नुहोस् । जलवायु परिवर्तन विश्वकै लागि चुनौतीका रुपमा देखा परेको छ ।” कृष्णनले भने, “प्रजातन्त्र बलियो हुनका लागि सुशासन, पारदर्शिता र जनताप्रति जवाफदेहिता हुनुपर्छ । आशा छ तपाईंले पक्कै पूरा गर्नुहुनेछ ।”
यसअघि मेयर कोइरालाले र सिनेटर माइकल जियानारिस, न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउ, न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित भेटवार्ता गरेका थिए ।
मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका गएका हुन् । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा मेयर कोइरालाले सहभागिता जनाएनाएका हुन् । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयर हाल न्यूयोर्कमा भेटघाट र छलफलमा व्यस्त रहेको मेयरका अन्तर्राष्ट्रिय सल्लाहकार घिमिरेले जानकारी दिए ।