पूर्वाञ्चल खबर
बाढीपछि सुरक्षाकर्मीसहित २८ जना सम्पर्कविहीन भएका छन्। टिमुरे क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी बाढीपछि सम्पर्कमा नआएको प्रारम्भिक विवरण छ।
बिहान करिब ९ बजे चीनतर्फबाट आएको ठूलो बाढीसँगै लेदो र माटो टिमुरे बजारमा पसेको थियो। बाढीले बजारका घर, होटल, पसल तथा सवारीसाधनमा क्षति पुर्याएको छ। प्रत्यक्षदर्शीका अनुसार बजार क्षेत्रबाट समेत नदी बगेको अवस्था छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० मा कार्यरत ३० जनामध्ये ६ जना बिदामा थिए भने १५ जना सुरक्षित रहेको स्रोतले जनाएको छ। ड्युटीमा रहेका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना भने बाढीपछि सम्पर्कविहीन छन्। बीओपी भवनमा भने बाढीले क्षति नपुर्याएको बताइएको छ।
टिमुरे क्षेत्रमा परिचालित नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको जनाइएको छ। नेपाल प्रहरीतर्फ कति जना सम्पर्कविहीन छन् भन्ने यकिन विवरण भने प्राप्त हुन बाँकी छ। यसअघि सशस्त्र प्रहरीतर्फ ९ जना सम्पर्कविहीन रहेको विवरण आएको थियो।
यसैबीच नुवाकोट कारागारमा समेत बाढी पसेको छ। कारागार प्रशासनका अनुसार बाढी एक तलामाथिसम्म पुगे पनि सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले पानीको सतह घट्दो क्रममा रहेको जनाइएको छ।
रसुवाबाट आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिरहेको छ। बाढी पूर्वानुमान महाशाखाले धादिङको गल्छी आसपास पुगेको बाढी केही घण्टामा मुग्लिन पार गर्न सक्ने अनुमान गरेको छ।
बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
बाढीपछि सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य व्यक्तिको खोजी र उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको पूर्ण विवरण तथा सम्पर्कविहीनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।