खबर पूर्वाञ्चल
मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिण्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो । विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिण्डरमा ग्यास नभएको भेटिएको हो ।
शिलप्याक सिलिण्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्यास नभएको भेटिएको हो । उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्यासको डिलर न्यु हिमाल मार्केटिङबाट ग्यास खरिद गरेकी थिइन् । न्यु हिमालका डिलरबाट ग्यास डुलाउने चौधरीसँग ग्यास लिएकी थिइन् । सिंहले एकै पटकमा ३–४ वटा ग्यास सिलिण्डर राख्ने गर्दछिन् । दुई वटा ग्यास सकिएपछि नयाँ खरिद गरेको ग्यास चुलोमा जोडन खोज्दा सिल प्याक सिलिण्डरमा ग्यास नभएपछि अचम्म परेको बताइन् ।
सिलप्याक ग्यास सिलिण्डरमा ग्यास नभएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतसहितको टोलीले उद्योगमा आज अनुगमन गरेको थियो । अनुगमनको क्रममा उद्योगबाट कैफियत भेटिएपछि वाणिज्य कार्यालयले कारबाही गरिएको उनले बताए ।
यता कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिण्डर पठाउने भएकोले उपभोक्ताले तौलेर मज्जाले हेरेर मात्र ग्यास लैजान आग्रह गरे । उद्योगको बदनाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने उनले बताए ।