पूर्वाञ्चल खबर
आज कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिए पछि वैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेकोे माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री रहेका छन् ।
‘आजकै मितिबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाइएको छ ।’
प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो ।
पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउछौं,’ उनले भने, ‘त्यसका लागि दलको बैठक बस्दैछ ।’
गत पौष २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् । दुवै मन्त्रीले आजै राजिनामा बुझाउने तयारी गरेको बताईएको छ ।
माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहने छन् ।