AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुन्दर देखिने रहर छ भगवान !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७८, बिहीबार १७:३१
315
Shares
अनुज सापकोटा
मानिसका रहर असिमित हुन्छन् । कसैलाई सगरमाथा चढ्ने रहर हुन्छ त कसैलाई चिल्लो गाडीमा हुँइकिने रहर हुन्छ । कोही हुष्टपुष्ट देखिन चाहन्छन् भने कसैमा संसार नै जित्ने रहर हुन्छ ।

विराटनगर–१४ का गणेश ऋषिदेवको पनि एउटा यस्तै रहर छ । ऋषिदेवलाई सुन्दर देखिने रहर छ ।

आजभन्दा २४ वर्ष अघि बुवा कुसमलाल ऋषिदेव र आमा अनारदेवी ऋषिदेवको कान्छो छोराको रूपमा गणेशको जन्म भयो । छोरा जन्मिएको खुशी त्यतिखेर कम भयो जब नाकमा मासुको डल्लो देखे । गाउँका बुढापाकाले गणेश भगवानको रूपमा छोराको जन्म भएको आमाबाबुलाई बताए । गणेश भगवानको प्रसाद ठानेर आमाबाबुले उनको नाम गणेश राखिदिए । गणेशको बढ्दो उमेरसँगै उनको नाकको मासुको डल्लोपनि बढ्दो छ । सानोमा मासुको डल्लोकै कारण उनले स्कुल जान मानेनन् । स्कुलमा सँगैका दौंतरीले जिस्क्याउने डरले गणेशले पढ्न मानेनन् ।

अनुहारमा मासुको डल्लो भएपनि गणेशलाई काम गर्नु पर्ने बाध्यता छ । गणेशका श्रीमतीसहित दुई छोराछोरी छन् । बुवा कुसमलाल दमको रोगी भएको र ८० वर्ष कटिसकेको हुनाले काम गर्न सक्दैनन् । छोरा गणेशले नै जसो तसो गरेर घर चलाइरहेको छ । गणेशलाई पनि अन्य व्यक्ति सरह सुन्दर देखिने मन छ । उनी नाकको मासुको डल्लो अनुहारबाट हटाउन चाहन्छन् । भगवानसँग अनुहार सुन्दर बनाइदेऊ भनी दिनरात पुकारा गर्छन् । गणेशले आफ्नो गच्छेले भ्याएसम्म अस्पतालको चक्कर पनि काट्नु काटे ।

उनी कोशी अस्पतालदेखि विराटनगरमा उपलब्ध निजी स्वास्थ्य संस्थापनि पुगे । चिकित्सकले उनको नाकको मासुको डल्लोको चेकजाँच गरे । अनुहारको मासु काटिने भयो र सुन्दर देखिने सपना पुरा हुने भयो भनेर गणेश खुशीपनि बने । तर उनको खुशीमा तुषारापात तब भयो जब चिकित्सकले उनलाई उपचार गर्न नसकिने भनेर निराश पारे । चिकित्सकले अनुहारमा ट्यूमर पलाएको गणेशलाई सुनाए ।

दिमागको नशापनि ट्यूमरमा टाँसिएको र ट्यूमर काटिए ज्यानै जोखिममा पर्ने भन्दै चिकित्सकले हात उठाएपछि गणेश निराश बने । गणेश नाकमा मासुको डल्लो बोकेरै हिँड्नु परेको छ । मन सुन्दर राखे अनुहार सुन्दर नभएपनि खासै फरक नपर्ने ठम्याई गणेशको छ । शिक्षक हरी ढुंगानाले गणेशले नाकको मासुको डल्लोबाट मुक्ति चाहेपनि स्वास्थ्य जटिलताका कारण सपना पुरा हुन नसकेको बताए । ढुंगानाले भने,‘ गणेशलाई सुन्दर देखिने रहर त छ, तर गरिबी बाधक बनिदियो । ’ देश विदेशका महङ्गा अस्पतालमा गए गणेशको समस्याको समाधान हुने ढुंगानाको ठम्याई छ ।

भगवानसँगको पुकाराको भरमा गणेशले सुन्दर देखिन चाहेपनि आर्थिक अभावका कारण रहर, रहरमा नै सिमित हुने निश्चित छ । अनुज सापकोटा न्यू सृष्टि देनिकका प्रमुख सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर