खबर पूर्वाञ्चल
आज विराटनगरस्थित अस्पतालमा आयोजित कार्यक्रममा जापानी राजदुतावासका उप–प्रमुख तामुरा ताकाहिरोले आँखा उपचारको स्तरबृद्धि गर्नका लागि सातवटा ठूला र अन्य उपकरण उपलब्ध गराएका हुन् । अस्पतालका विकास समिति अध्यक्ष डा. फरवर्ड सिलवालका अनुसार ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्र्तगत जापानले अनुदानमा अस्पताललाई उपकरण प्रदान गरेको हो ।
विरामीको सफल उपचारका लागि अस्पतालले स्रोत र साधनसहित गुणस्तरीय उपकरण जुटाउदै आएको अध्यक्ष डा. सिलवालले बताए । प्रदेशकै ठूलो अस्पतालका रुपमा परिचित कोशीमा आँखाको उपचारका लागि मोरङबाट मात्र नभएर आसपास र पहाडी जिल्लासंगै भारतबाट समेत विरामी आउने गरेको अध्यक्ष डा. सिलवालले जानकारी दिए।
अस्पतालकी आँखा विभाग प्रमुख डा. आश्मा केसीका अनुसार जापान सरकारले मोतियाविन्दु र जलविन्दुको उपचारका लागि विभिन्न सातवटा उपकरण र अन्य सामाग्री प्रदान गरेको जानकारी दिइन् । विगत तीन महिनादेखि मोतियाविन्दूको शल्यक्रिया हुदै आएको बताएकी विभाग प्रमुख डा. केसीले भनिन्, ‘हामी कहाँ स्वास्थ्य बीमाबाट उपचार सुरु गराउन थालेपछि विरामीको चाप बढ्दै गएको छ । बीमासंगै अस्पतालले आर्थिक अवस्था कमजोर भएका विरामीलाई समेत सेवा दिदै आएको छ । अहिले जापान सरकारले उपलब्ध गराएको उपकरणले विरामीको उपचारमा थप सहजता हुनेछ।’
उनका अनुसार हस्तान्तरण भएका सामाग्री अन्र्तगत ओपीडिमा पाँच वटा र अपरेसनका लागि २ वटा उपकरण छन्। हस्तान्तरण गरिएका उपकरणले आँखाको प्रेसर, अल्ट्रासाउण्ड, आँखाको पर्दा परिक्षण, शल्यक्रिया, आँखाको मोटाइ नाप्ने, आँखामा भएको पावर परिक्षण लगायतमा प्रयोग हुनेछ ।
हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, अस्पतालका मेसु डा. रविनराज सिंह लगायतको उपस्थिती रहेको थियो । कोशी अस्पतालमा आँचा उपचारका लागि ६ जना चिकित्सक कार्यरत रहेकाछन् । अस्पतालमा दैनिक ३५ देखि ४० जना नेपाली र गैह्र नेपाली नागरिक उपचार सेवाका लागि पुग्ने गरेकाछन् । अस्पतालमा वार्षिक ३ लाख विरामीले विभिन्न रोगको उपचार सेवा लिदै आएकाछन् ।