खबर पूर्वाञ्चल
आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताएका हुन् ।
उनले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राखे । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ ।
विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए । उनका अनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाई क्यान्सरको जोखिममा पार्ने उनको भनाई छ । विद्युतीय फोहोर व्यवस्थापनका लागि आयातकर्ता, विक्रेता , प्रयोगकर्ता देखि सरकारसमेत जिम्मेवार बन्नुपर्ने उनको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आबश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव संकलनसमेत थालेको अर्यालले बताए ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिम्सिनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोग पछिको व्यवस्थापन जटिल बन्दै गएको बताए । महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामाग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामाग्रीको व्यवस्थापनका लागि नेपालमा आबश्यक पूर्वाधार नहुँदा पुराना धातुहरू सरह कवाडीलाई बिक्रि गर्ने गरिएको उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आबश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको बताए । उनले पुराना विद्युतीय सामाग्री संकलन गरेर पुनः प्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग संगठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको बताए ।
कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताए । नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रुपमा भारत निकासी गरिंदै आएको मियाँले जानकारी दिए ।