खबर पूर्वाञ्चल
विराटनगरको सहिद रंगशालामा भोलीे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने लगातार दोस्रो पटक गोल्डकपको फाइनलमा पुगेको घरेलु टोली उपाधि हात पार्ने दाउमा रहेको छ । घरेलु टोली विराट गोल्ड कपमा दास्रो पटक फाइनलमा पुगेको हो ।
सांग्रीलाले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रीलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई ३–२ गोलले र सेमिफाइनलमा एपीएफलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटरफाइनलमा कोलकाताका साउर्थन समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
सांग्रीलाले सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।
गत वर्षको सातौं संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो । त्यसपछि आठौं संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको लगातार दोस्रो पटक हो ।
विराटनगरमा आज प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौ संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं ।’ यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएर आएको उनले बताए । ‘उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोली हुन्छ ।’ उनले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए ।
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।
सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’ फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप प्लान गरेर फाइनल खेल्ने बताए । उनका अनुसार सांग्रीलाले ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले बताए ।
सांग्रीलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र हामीले उत्कृष्ट खेल प्रर्दशन गर्ने भएको कारणले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं ।’ लिग विजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।
चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि रहेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।