खबर पूर्वाञ्चल
कोशी प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको आज बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।
आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ । आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ । पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथल्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।