AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशीको खेलकुद विकास बोर्डको सदस्य सचिवमा ‘एनआइएस’ योग्यता अनिवार्य गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०८२, बिहीबार १९:१९
261
Shares
विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डमा महिनौंदेखि रिक्त रहेको सदस्य सचिव पदमा राजनीतिक नियुक्ति नगरी खेल क्षेत्रका विशेषज्ञ र राष्ट्रिय खेलकुद संस्थान (एनआइएस) बाट तालिम प्राप्त व्यक्तिलाई नियुक्त गर्न खेलकर्मीहरूले माग गरेका छन् ।

पूर्व सदस्य सचिव पर्शुराम बस्नेतको कार्यकाल सकिएपछि नेतृत्वविहीन बनेको बोर्डमा तत्काल नियुक्ति गर्न माग गर्दै प्रदेशका १६ वटा खेल सम्बद्ध संघका प्रतिनिधिहरूले आज मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले समय दिएर पनि अन्तिम समयमा कार्यालयमा उपस्थित नभएपछि खेलकर्मीहरूले प्रमुख सचिव चन्द्रकला पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । सदस्य सचिव जस्तो महत्त्वपूर्ण पद रिक्त रहँदा दशौं राष्ट्रिय खेलकुदको तयारीलगायत प्रदेशको समग्र खेलकुद गतिविधि ठप्प भएको भन्दै उनीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल कराँते महासंघका कोशी प्रदेश महासचिव राम लिम्बुले विगतमा राजनीतिक भागबन्डाका आधारमा खेल नबुझेका व्यक्तिलाई नेतृत्व सुम्पिँदा प्रदेशको खेलकुद क्षेत्र धराशायी बनेको आरोप लगाए । “यसअघि राजनीतिक दलका कार्यकर्ता नियुक्त गर्दा प्रदेशको खेलकुद क्षेत्र पछि पर्‍यो, खेल नबुझ्नेको हालिमुहाली भयो,” उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बनाउने खेलकुद जस्तो संवेदनशील क्षेत्रमा अब राजनीतिक भर्ती बन्द हुनुपर्छ । खेल बुझेको र एनआइएस जस्तो विशेष तालिम हासिल गरेको व्यक्ति सदस्य सचिव भएर आएमा मात्र प्रदेशको खेलकुदले फड्को मार्नेछ ।”

ज्ञापनपत्रमा सदस्य सचिव नियुक्तिका लागि स्पष्ट मापदण्ड तोक्न समेत माग गरिएको छ । जसमा कम्तीमा तीन पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएको, प्रशिक्षक कोच वा निर्णायक रेफ्रीको लाइसेन्स प्राप्त गरेको र स्पोर्टस साइन्स वा एनआइएस अध्ययन गरेको हुनुपर्ने प्रावधान अनिवार्य गर्न सुझाइएको छ ।

खेलकर्मीहरूले विगतमा नियुक्त भएका पर्शुराम बस्नेतले बोर्डलाई राजनीतिक स्वार्थपूर्तिको थलो बनाएको र संस्थालाई नै कमजोर बनाएको गुनासो गरे । उनीहरूकै कार्यकालमा राष्ट्रपति खेलकुद प्रतियोगितामा प्रदेशले एउटा पनि स्वर्ण पदक जित्न नसकेको तीतो यथार्थलाई स्मरण गराउँदै राष्ट्रिय मान्यताप्राप्त संघहरू हुँदाहुँदै तदर्थ समिति गठन गरेर खेल र खेलाडीको भविष्यमाथि खेलबाड गरिएको आरोप लगाइएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा कराँतेका राम लिम्बु, सफ्ट टेनिसका दिनेश कर्ण, एथलेटिक्सका आभास बुढाथोकी, खोखोका बिस्कुलाल चौधरी, तेक्वान्दोका द्वारिका रेग्मी, फुटबलका अनुप खनाल, उसुका रामे राजवंशी, चेसका श्याम राई, किक बक्सिङका इश्वर माझीलगायत विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकहरूको सहभागिता थियो । उनीहरूले प्रदेश सरकारले तत्काल योग्य व्यक्ति छनोट गरी नियुक्ति प्रक्रिया अगाडि नबढाए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर